काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नेपाल लाइफ समृद्धि लगानी योजना नामक सामूहिक लगानी कोषलाई स्वीकृति दिएको छ। कोष प्रवर्द्धक नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड तथा योजना व्यवस्थापक नेपाल लाइफ क्यापिटल लिमिटेड रहेका छन्।
सेबोनले प्रति इकाई अंकित मूल्य १० रुपैयाँ दरका १६ करोड इकाई निष्काशन गर्न अनुमति दिएको हो। यसमार्फत कुल १ अर्ब ६० करोड रुपैयाँ बराबरको फण्ड संकलन गरिनेछ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको यो पहिलो बन्दमुखी सामूहिक लगानी योजना हो। योजनाको अवधि १० वर्ष रहेको छ। योजनाले ईक्रा नेपाल लिमिटेडबाट कोष प्रवर्द्धक तथा योजना व्यवस्थापक दुवैका लागि रेटिङ प्राप्त गरिसकेको छ।
फण्ड बिक्रीबाट संकलित रकम धितोपत्र बोर्डमा दर्ता भएका धितोपत्र, सार्वजनिक निष्काशन भएका तथा धितोपत्र बजारमा सूचीकृत कम्पनीका सेयर, बैंक निक्षेप, मुद्रा बजार उपकरण, नेपाल सरकारले जारी गरेका ऋणपत्र, ट्रेजरी बिल तथा अन्य मुद्रा बजारका साधनहरूमा लगानी गरिने योजना व्यवस्थापकले जनाएको छ।
योजना व्यवस्थापकका अनुसार आवश्यक प्रक्रिया पूरा गरी छिट्टै सर्वसाधारणका लागि इकाईहरू बिक्रीमा ल्याइनेछ।
.jpg)


