आइतबार, कार्तिक १६ गते २०८३
images
images

आज शहिद दिवस : शहिदको बलिदान सम्झँदै देशभर श्रद्धाञ्जली कार्यक्रम

एक्सप्रेस पाना
माघ १६, २०८२ शुक्रबार
  • 139
    SHARES
  • आज शहिद दिवस : शहिदको बलिदान सम्झँदै देशभर श्रद्धाञ्जली कार्यक्रम

    काठमाडौं । देश र जनताको स्वतन्त्रता तथा अधिकारका लागि जीवन आहुति दिने शहिदहरूको स्मरणमा आज शुक्रबार देशभर शहिद दिवस विविध कार्यक्रमका साथ मनाइँदैछ । प्रजातन्त्र, स्वतन्त्रता र न्यायका लागि आफ्नो जीवन बलिदान गर्ने शहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै यो दिवस मनाउने गरिन्छ ।

    images

    नेपालमा प्रजातन्त्र स्थापनाका लागि ज्यान अर्पण गर्ने चार महान् शहिद—धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्रीसहित विभिन्न कालखण्डमा बलिदान दिएका सहिदहरुको सम्झनामा हरेक वर्ष माघ १६ गते सहिद दिवस मनाइन्छ।

    राणा शासनविरुद्ध आवाज उठाएको आरोपमा तत्कालीन शासकले ती शहिदलाई मृत्युदण्ड दिएको थियो। उनीहरूको साहसिक बलिदानले नेपाली समाजमा चेतनाको बीजारोपण गर्दै जहानियाँ राणा शासनको अन्त्य र प्रजातन्त्र स्थापनाको मार्ग प्रशस्त गरेको इतिहास छ ।

    images

    शहिद दिवस केवल स्मरणको दिन मात्र नभई प्रजातन्त्र स्थापना, पुनःस्थापना तथा देशको सार्वभौमिकता र स्वतन्त्रताका लागि संघर्ष गरेका शहिदको योगदानबाट प्रेरणा लिने अवसरसमेत हो। यही उद्देश्यसहित माघ १० देखि १६ गतेसम्म ‘शहिद सप्ताह’ घोषणा गरी विभिन्न सचेतनामूलक तथा श्रद्धाञ्जली कार्यक्रमहरु आयोजना हुँदै आएका छन्।

    स्वतन्त्रताको माग गर्दै संघर्ष गर्ने क्रममा १९९७ सालमा सहिद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौंको टेकुस्थित पचलीमा, धर्मभक्त माथेमालाई माघ १३ गते सिफलमा तथा गङ्गालाल श्रेष्ठ र दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिएको थियो।

    आजको दिन शहिदको सपना र बलिदानलाई स्मरण गर्दै लोकतन्त्रको संरक्षण, सुशासन र नागरिक अधिकारप्रति प्रतिबद्धता व्यक्त गर्ने दिनका रूपमा मनाइँदैछ ।

  • सम्बन्धित विषय:

  • # शहिद दिवस