काठमाडौं । बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा मृतकको संख्या १३ पुगेको छ।
बिहीबार राति भएको दुर्घटनामा घाइतेमध्ये थप पाँच जनाको डडेलधुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
मृतकमध्ये बित्थडचिर गाउँपालिका–७ का ४० वर्षीय केशवराज जोशी र उनका १३ वर्षीय छोरा अशोकराज जोशी रहेका छन्।
त्यस्तै, डडेलधुरा अस्पतालमा उपचारका क्रममा बित्थडचिर गाउँपालिका–७ कै १७ वर्षीय बिसनदत्त जोशी, २८ वर्षीय दीपकराज जोशी, ४६ वर्षीय किसनदत्त जोशी, केदारस्युँ गाउँपालिका–७ का २७ वर्षीय केशवराज भट्ट तथा पुर्चौडी नगरपालिका–७ की १४ वर्षीया सुशील जोशीको मृत्यु भएको छ।
यसअघि दुर्घटनामा पुर्चौडी नगरपालिका–७ की ४० वर्षीया पुष्पा अवस्थी र केदारस्युँ गाउँपालिकाका ६० वर्षीय मोहनदेव भट्टको पनि ज्यान गएको पुष्टि भएको छ।
दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


