काठमाडौं । अमेरिकाको भर्जिनिया राज्यस्थित फेयरफ्याक्स काउन्टीमा नेपाली एकै परिवारका दुई महिलाको छुरा प्रहारबाट हत्या भएको छ।
स्थानीय सञ्चारमाध्यमहरूका अनुसार पर्सिमन ड्राइभस्थित एक अपार्टमेन्टमा ५० वर्षीय छत्र बहादुर थापाले आफ्नै श्रीमती र छोरीमाथि धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन् ।
घटनापछि प्रहरी पुगेको समयमा अवस्था अत्यन्तै भयावह रहेको प्रहरीले जनाएको छ। घटनामा ३१ वर्षीया ममता थापा र ५१ वर्षीया बिन्दा थापाको मृत्यु भएको पुष्टि गरिएको छ।
प्रारम्भिक जानकारी अनुसार, घटनाको समयमा परिवारका ज्वाइँ सन्तोष कुमार बस्नेत बाहिर गाडीबाट हिउँ हटाइरहेका थिए। घरभित्रबाट चिच्याहट सुनेपछि उनले आपतकालीन नम्बर ९११ मा फोन गरी भित्र प्रवेश गर्दा दुवै महिला गम्भीर अवस्थामा फेला परेका थिए।
प्रहरीका अनुसार आरोपित थापाले बस्नेतमाथि समेत आक्रमण गर्ने प्रयास गरेका थिए। घटनास्थलमा पुगेका प्रहरी अधिकारीहरूले बारम्बार हतियार छोड्न चेतावनी दिँदा पनि नमानेपछि गोली चलाइएको थियो। गोली लागेर थापाको घटनास्थलमै मृत्यु भएको बताइएको छ।
गम्भीर घाइते बस्नेतको उपचार भइरहेको छ र उनको अवस्था चिन्ताजनक रहेको जनाइएको छ। घटनाको समयमा अपार्टमेन्टमा रहेका एक वर्षका बालक भने सुरक्षित रहेका छन्।
अमेरीकी सञ्चारमाध्यमका अनुसार प्रारम्भिक अनुसन्धानमा परिवारसँग सम्बन्धित कुनै आपराधिक पृष्ठभूमि वा पूर्व प्रहरी उजुरी नभेटिएको जनाइएको छ। घटनाको कारणबारे थप अनुसन्धान जारी रहेको स्थानीय सञ्चारमाध्यमले बताएका छन्।


