आइतबार, भाद्र २८ गते २०८३
images

इजरायल–इरान तनाव:त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रु अलपत्र, १७ लाखभन्दा बढी नेपालीको सुरक्षामा चिन्ता

एक्सप्रेस पाना
फाल्गुण १७, २०८२ आइतबार
  • 143
    SHARES
  • इजरायल–इरान तनाव:त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रु अलपत्र, १७ लाखभन्दा बढी नेपालीको सुरक्षामा चिन्ता

    काठमाडौं । पश्चिम एसियामा पछिल्लो २४ घण्टामा चुलिएको सैन्य तनावले काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा प्रत्यक्ष असर पारेको छ ।

    images

    इजरायल र इरानबीच आक्रमण–प्रत्याक्रमणको अवस्था सिर्जना भएसँगै केही देशहरूले हवाई मार्ग बन्द गरेपछि कतार, संयुक्त अरब इमिरेट्स, साउदी अरब लगायत गन्तव्यका उडानहरू प्रभावित भएका छन् ।

    उडान रद्द भएसँगै शनिबारदेखि नै सयौँ यात्रु विमानस्थलमै अलपत्र परेका छन् । आइतबार बिहानसमेत उडान कहिले नियमित हुन्छ भन्ने स्पष्ट सूचना नपाउँदा यात्रुहरू अन्योलमा देखिएका थिए ।

    images

    विमानस्थल परिसरमा सूचना टाँसिएपनि ठोस जानकारी नहुँदा यात्रुहरू दुविधामा परेका छन् । एयरलाइन्स कम्पनीहरूले वैकल्पिक बसोबासको व्यवस्था नगरेकाले धेरै यात्रु आफैं होटल फर्किन बाध्य भएका छन् भने कतिपय टिकट पुनःनिर्धारणको पर्खाइमा छन् ।

    न बस्ने पैसा छ, न घर फर्किने
    सिराहाबाट काठमाडौं आएका परमेश्वर शाह शनिबार राति कतार जान लागेका थिए । तर उडान स्थगित भएपछि उनी विमानस्थलमै रोकिए । ‘हिजो कतार जानुपर्ने थियो । यहाँ बस्ने पैसा छैन, घर फर्किने पनि छैन । सरकारले सहयोग गर्नुपर्छ,’ उनले गुनासो गरे । एयरलाइन्सले सञ्चालन स्थगितको सूचना देखाउँदै समस्या समाधान नगरेको उनले बताए ।

    सरकारी तथ्याङ्कअनुसार छ प्रमुख खाडी मुलुकमध्ये संयुक्त अरब इमिरेट्समा ६ लाखभन्दा बढी नेपाली कार्यरत छन् । कतारमा करिब ५ लाख, साउदी अरबमा करिब ४ लाख ५० हजार, कुवेतमा करिब १ लाख २० हजार तथा बहराइन र ओमानमा ५०–५० हजारभन्दा बढी नेपाली काम गरिरहेका छन् । इजरायलमा करिब ५ हजार नेपाली मुख्यतः हेरचाह र कृषि क्षेत्रमा कार्यरत छन् ।
    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक करिब १,५०० युवा रोजगारीका लागि पश्चिम एसिया प्रस्थान गर्ने अनुमान छ ।
    विदेशिनेको ठूलो हिस्सा युवा तथा काम गर्ने उमेर समूहका भएकाले यस अवस्थाले हजारौँ परिवारको आयमा प्रत्यक्ष प्रभाव पार्ने देखिन्छ ।

    परराष्ट्र मन्त्रालयको चेतावनी
    तनाव बढेपछि परराष्ट्र मन्त्रालयले इजरायल, इरान तथा पश्चिम एसियाका अन्य देशमा रहेका नेपालीलाई सतर्क रहन आग्रह गरेको छ । मन्त्रालयले स्थानीय सुरक्षा निकायका निर्देशन कडाइका साथ पालना गर्न, अनावश्यक बाहिर ननिस्कन, सम्भव भएसम्म घरभित्रै बस्न र पूर्वअनुमति बिना यात्रा नगर्न अनुरोध गरेको छ ।

    इजरायल वा इरान भ्रमणको योजना भएकालाई अवस्था सामान्य नभएसम्म यात्रा स्थगित गर्न पनि सिफारिस गरिएको छ ।

    दूतावासहरूको आग्रह
    संयुक्त अरब इमिरेट्सका लागि आबुधाबीको दुतावासले त्यहाँ रहेका नेपालीलाई अनावश्यक यात्रा नगर्न र सतर्क रहन आग्रह गरेको छ । त्यस्तै, दोहास्थित नेपाली दुतावासले इरानमा रहेका नेपालीलाई स्थानीय निकायको पूर्वस्वीकृति बिना यात्रा नगर्न र सुरक्षा निर्देशन कडाइका साथ पालना गर्न अनुरोध गरेको छ । दूतावासले अवस्था नजिकबाट अनुगमन भइरहेको जनाएको छ ।

    उडान कहिले पूर्ण रूपमा नियमित हुन्छ भन्नेबारे स्पष्ट जानकारी नआएसम्म विमानस्थलमा अन्योल कायम रहने देखिएको छ । पश्चिम एसियामा बढ्दो सैन्य गतिविधिले खाडी मुलुकमा कार्यरत १७ लाखभन्दा बढी नेपालीको सुरक्षा र आवागमन दुवैबारे गम्भीर चिन्ता थपेको छ । एएनआई

  • सम्बन्धित विषय:

  • # इजरायल–इरान तनाव