भाद्र ६ काठमाडौं । तालिबानले अफगानिस्तानको राजधानी काबुल कब्जा गरेको आज एक साता पूरा भएको छ। हालसम्म एक सातामा विमानस्थलमा भागदौड हुँदा कम्तीमा पनि १२ जनाको ज्यान गएको छ । त्यस्तै तालिबानले काबुल कब्जा गरेलगत्तै अफगानिस्तान छोड्नेहरुको सङ्ख्या पनि दिन प्रतिदिन बढ्दै गएको छ ।
अफगानिस्तानको अवस्था अझै अन्योल छ । अफगानिस्तानको काबुल विमानस्थल नजिकबाट आफूहरुले विदेशी नागरिकलाई अपहरण नगरेको तालिबानले दाबी गरेको छ । काबुलको विमानस्थलमा अझै पनि अमेरिकी नेतृत्वको सैन्य समूहले उद्धारको काम गरिरहेको र अपहरणबारे आएका सूचना हल्ला मात्र भएको तालिबान अधिकारीलाई उदृत गरि समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
तालिबान सदस्यले सबै विदेशी नागरिकलाई विमानस्थलमा पहुँच प्राप्त गर्न मद्दत गरिरहेको तालिबानका प्रवक्ता अहमद उल्लाह वासेकले बताएका छन् । हवाई उडान प्रक्रियामा सहयोग गर्न काबुल विमानस्थलमा झण्डै पाँच हजार अमेरिकी सेना खटाइएको तालिबानको दाबी छ । तालिबान समूहले काबुललाई आफ्नो कब्जामा लिएपछि प्रेस र त्यहाँ कार्यरत जनशक्तिलाई हतोत्साही गर्ने काम गरेको भन्दै अमेरिकी सरकारले तालिबान अधिकारीसँग चासो समेत व्यक्त गरेको छ ।


