रौतहट, ६ भदौ ।रौतहटमा वन अतिक्रमण गरेर पक्की घर बनाउने क्रम बढेको छ । वनक्षेत्रका खाली जमिनमा र चुरेक्षेत्रमा फडानी गरेर अतिक्रमण भइरहेको छ ।
राष्ट्रिय वन अन्तर्गत पर्ने चन्द्रपुर नगरपालिका–३ अरुणवस्ती, भोलेन्टार, गैँडाटारको महादेवडाँडा, तोरीवारी, इपलीबस्ती, फुलवारी, हिलेखोला पौराईलगायत क्षेत्रमा अतिक्रमण भएका हुन् ।
पछिल्लो केही सातादेखि अरुण बस्ती लगायतका क्षेत्रमा पनि फडानी भएको छ । गुजरा, बृन्दनबन, फतुवा बिजयपुर, चन्द्रपुरका हजारौ हेक्टर वनको जमिन अतिक्रमण गरि बस्ति नै बसेको छ । वनको जमिनमा झुपडीदेखि पक्की घर तथा अन्य संरचना बनेका छन् ।
चुरेको बागमतीदेखि धन्सरसम्म सयौ हेक्टर वन अतिक्रमण भएको छ । जिल्लाको चुरे क्षेत्रमा हजारौँ घरटहराहरु छन् । उनीहरुलाई व्यवस्थितरुपमा राख्ने वा त्यहाँबाट हटाउने भन्नेमा प्रशासनको ठोस नीति छैन ।
चुरेमा अव्यवस्थित बसोबास हुँदा राष्ट्रपति चुरे संरक्षण कार्यक्रमसमेत प्रभावकारी बन्न सकेको छैन । डिभिजन वन कार्यालय रौतहटका निमित्त प्रमुख अमरदेव यादवले आफूले भ्याएसम्मको गस्ती गरिरहेको दावी गर्दै अतिक्रमण तथा फडानी गर्नेहरुलाई नियन्त्रणमा लिई कारवाही गर्दै आएको बताएका छन् ।
.jpg)


