आइतबार, कार्तिक १६ गते २०८३
images
images

घट्यो पेट्रोलियम पदार्थको मूल्य

एक्सप्रेस पाना
आषाढ १२, २०७९ आइतबार
  • 227
    SHARES
  • घट्यो पेट्रोलियम पदार्थको मूल्य

    असार १२ काठमाडौं । सरकारले पेट्रोलियम पदार्थमा लगाउँदै आएको करमा केही कटौती गर्ने निर्णय गरेपछि नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटीतेलको मूल्य घटाएको छ । निगमले पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ तथा डिजेल र मटीतेलमा प्रतिलिटर २९ रुपैयाँ मूल्य घटाएको छ ।

    images

    पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको चौतर्फी आलोचना भएपछि सरकारले इन्धनमा लगाउँदै आएको कर घटाउने निर्णय गरेको हो। सरकारले पेट्रोलमा २० रुपैयाँ, डिजेल र मटीतेलमा २९ रुपैयाँ कर घटाउने निर्णय गरेको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र बडूले जानकारी दिए । निगमले सोही बराबर इन्धन मूल्य घटाएको हो ।  

    निगमले डिजेलको मूल्य प्रतिलिटर १ सय ६३ र पेट्रोलको १ सय ७९ रुपैयाँ कायम गरेको छ। सरकारको निर्देशनअनुसार मूल्य घटाउने निर्णय गरेको आयल निगमका प्रवक्ता विनीतमणि उपाध्यायले बताए । सरकारले भन्सार, प्रज्ञापन शुल्क, भ्याट, पूर्वाधार कर, सडक मर्मत करसहित पेट्रोल लिटरमा ६५ रुपैयाँ ६१ पैसा र डिजेलमा ४९ रुपैयाँ ५३ पैसा कर उठाउँदै आएको छ ।

    images

    घटेको मूल्य शनिबार रातिबाट कार्यान्वनयमा आएको छ । यसअघि पेट्रोलको मूल्य लिटरको १ सय ९९ र डिजेलको १ सय ९२ रुपैयाँ थियो । हवाई इन्धन, खाना पकाउने ग्यासको मूल्य भने यथावत रहेको निगमले जनाएको छ । विदेशी मुद्रा खर्च गरी महँगो मूल्यमा आयात गर्नुपर्ने पेट्रोलियम पदार्थको प्रयोग सकेसम्म कम गरी विद्युत्लगायतका स्वदेशी ऊर्जाको खपत बढाउनुपर्ने राष्ट्रिय आवश्यकतालाई मनन गर्न आयोगले उपभोक्तालाई अनुरोध गरेको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री बडूले शनिबार सिंहदरबारमा आकस्मिक पत्रकार सम्मेलन गरी सरकारले इन्धनमा कर कटौती गरेको जानकारी दिएको केही समयमा नै निगमले पनि औपचारिक रूपमा मूल्य घटाउने निर्णय गरेको हो । इन्धनको मूल्यवृद्धिले महँगी बढेकाले उपभोक्तालाई राहात दिन कर घटाएको मन्त्री बडुले बताए ।