भाद्र ८ काठमाडौं । लुम्बिनी प्रदेश सरकारलाई एमालेले मान्यता दिन नसक्ने स्पष्ट पारेको छ । हिजो सोमबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत लिने बेलामा प्रमुख प्रतिपक्ष एमाले प्रदेश सभा बैठक नै छोडेर बाहिरिएको थियो । बैठक छोडेर विश्वासको मत विभाजन प्रक्रियामा सहभागी नभएको एमाले संसदीय दलले सरकारलाई वैधानिकता दिन नसक्ने बताएको हो ।
एमाले संसदीय दलका प्रमुख सचेतक भूमीश्वर ढकालले प्रदेश सभामा सोमबार ‘नाटक मञ्चन’ गरिएको भन्दै त्यस्तो नाटकबाट बनेको सरकार असंवैधानिक रहेको बताए । ‘सरकार बन्दा नै वैधानिक प्रक्रिया पुरा भएको छैन,’ उनले भने, ‘त्यस्तो अवैधानिक नाटकलाई हामीले मान्यता दिने कुरा नै आउँदैन ।’
एमालेले कारबाहीको सिफारिस गरेका दुई प्रदेश सभा सदस्य पदमुक्त नहुँदासम्म प्रमुख प्रतिपक्षको हैसियतले प्रदेश सभा बैठक बहिष्कार गर्ने पत्रसहित जानकारी दिँदादिँदै पनि जबरजस्ती बैठक सञ्चालन गरेर संसदीय मर्यादा नाघेको बताए । प्रतिपक्षबिना नै लिएको विश्वासको मतको कुनै अर्थ र वैधानिक स्पष्टता नहुने एमालले जनाएको छ । एमालेले आफ्ना दुई सदस्यलाई कारबाही नहुँदासम्म प्रदेश सभा बैठक चल्न नदिने अडान अझै पनि जारी रहने पनि स्पष्ट पारेको छ ।
.jpg)


