आइतबार, कार्तिक १६ गते २०८३
images
images

उदयपुरमा २७ प्रतिशत रोपाइँ

एक्सप्रेस पाना
आषाढ २६, २०७९ आइतबार
  • 278
    SHARES
  • उदयपुरमा २७ प्रतिशत रोपाइँ

    असार २६ उदयपुर । यसपटक जेठको दोस्रो हप्तादेखि नै वर्षा सुरु भए पनि उदयपुरमा हालसम्म २७ प्रतिशत मात्र धान रोपाइँ गरिएको छ ।

    images

    जिल्ला कृषि ज्ञानकेन्द्रका अनुसार यसपटक सुरुदेखि नै वर्षा पर्याप्त भए पनि कृषकको धानको बीउ समयमा हुर्कन नसकेका कारण जिल्लाका धेरै स्थानमा धान रोपाइँ ढिला हुन पुगेको छ । जिल्लाको मुख्य धान उत्पादन क्षेत्रको पकेट मानिएको त्रियुगा नगरपालिकाको जोगिदह, पोर्ताह, लक्ष्मीपुर, बगाहा, राजाबास तथा गैरुन र चुहाडे, असारी क्षेत्रमा अझै पनि धान रोपाइँ आधा पनि सकिएको छैन । कतिपय स्थानमा रोपाइँ सुरु नै नभएको कृषक बताउँछन् ।

    चौदण्डीगढी नगरपालिकाको सिवाइ, सुन्दरपुर, हडिया, बेलही, क्षेत्रमा पनि भर्खर मात्र धान रोपाइँ सुरु भएको चौदण्डीगढी नगरपालिकाका कृषक बताउँछन् । यस्तै जिल्लाको धान उत्पादन पाकेट क्षेत्र मानिने बेलका नगरपालिकाको पुरनदह, तपेस्वरी, बानडाँडा, भागलपुर, आम्बासी, सेतीखोला, लालसिसुवा, जहडा, गुरुङचौरी, बरगाछी क्षेत्रमा हालसम्ममा ४० प्रतिशत मात्र धान रोपाइ भएको बेलका नगरपालिकाका प्रमुख अशोक कार्की बताउनुहुन्छ ।

    images

    कटारी नगरपालिकाको त्रिवेणी, हरैया, मरुखोला, सोमबारे रिस्कुसहितका स्थानमा पनि हालसम्ममा २५ जतिमात्र धान रोपाइँ भएको स्थानीय कृषक बताउँछन् । कटारी सोमबारेका कृषक रामबहादुर दनुवार भन्नुहुन्छ, “यस पटक सुरुदेखि नै वर्षा पर्याप्त भएको छ तर धानको बीउ अलिक ढिलो राखियो, समयमा बीउ हुर्कन नसकेका कारण अहिले धान रोपाइँ ढिलो हुने भएको छ ।”

    जेठको दोस्रोे हप्तादेखि नै वर्षा सुरु भएको तर धानको बीउ हुर्कन ढिला भएका कारण धान रोपाइ निकै ढिलो हुन पुगेको कृषकले बताएका छन् । जिल्ला कृषि ज्ञानकेन्द्रका प्रमुख महेश चौधरीका अनुसार यसपटक जिल्लाको तराईका चार नगरपालिकाभन्दा बढी धान रोपाइँ पहाडी पालिकामा भइरहेको छ ।

    लिम्चुङबुङ र उदयपुरगढी गाउँपालिकामा झण्डै ४० प्रतिशतभन्दा बढी धान रोपाइँ भइसकेको कृषि ज्ञानकेन्द्रले जनाएको छ । यस्तै रौतामाई गाउँपालिकामा पनि ३८ प्रतिशत रोपाई भएको छ भने ताप्लीमा ३५ प्रतिशत रोपाई भइसकेको छ । पहाडी गाउँ पालिकाहरुको तुलनामा तराईका चार नगरपालिकामा धानको बीउ समयमा हुर्कन नसकेका कारण धान रोपाइँ ढिलाइ हुन पुगेको कृषक बताउँछन् । उदयपुरमा १४ हजार हेक्टरमा धानखेती गरिँदै आएको कृषि ज्ञानकेन्द्रका प्रमुख महेश चौधरी बताउनुहुन्छ ।