बुधबार, कार्तिक १९ गते २०८३
images
images

नागरिकता विधेयक अघि बढ्यो

एक्सप्रेस पाना
आषाढ २९, २०७९ बुधबार
  • 307
    SHARES
  • नागरिकता विधेयक अघि बढ्यो

    असार २९ काठमाडौं । सरकारले ल्याएको नागरिकता ऐन संशोधनसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट अगाडि बढेको छ ।  प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९’ पेस गर्नुभएको हो ।

    images

    प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसद डा भीमबहादुर रावल, शेरबहादुर तामाङ र नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले दर्ता गराउनुभएको विरोधको सूचनालाई प्रतिनिधिसभाको बहुमतले अस्वीकृत गरेपछि मन्त्री खाणले नागरिकता ऐन संशोधन विधेयक पेस गर्नुभएको हो ।

    विधेयकको विरोध गर्नुपर्ने कारणबारे बोल्दै सांसद रावलले राज्य व्यवस्था समितिले तीन वर्ष छलफल गरेर प्रतिवेदन पेस गरिसकेको अवस्थामा उक्त विधेयक फिर्ता लिएर अर्को नयाँ विधेयक ल्याइनु समितिकै अवहेलना भएको दाबी गर्नुभयो ।  

    images

    अर्का सांसद तामाङले लैङ्गिक पहिचानसहित आमा वा बाबुका नामबाट नागरिकता प्राप्त गर्ने मर्म विपरीत विधेयक आएको भन्दै असहमति जनाउनुभयो । उक्त विधेयकलाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्राप्त विरोधमाथि सङ्क्षिप्त प्रतिक्रिया दिँदै गृहमन्त्री खाणले संविधानको प्रावधानबमोजिम नागरिकताविहीन नागरिकलाई नागरिकता सुनिश्चित गर्ने उद्देश्यले विधेयक ल्याइएको बताउनुभयो ।

    उहाँले पछिल्लो पटक नागरिकता विधेयक राज्य व्यवस्था तथा सुशासन समितिमा लामो छलफलपछि प्रतिवेदनसहित आएको र उक्त विधेकलाई अघि बढाउने तथा कानुन बनाएर सहमतिबाट पारित गर्ने वातावरण बनाउन प्रयत्न गरिए पनि त्यो नभएपछि विधेयक फिर्ता भएको स्पष्ट पार्नुभयो ।

    गृहमन्त्री खाणले नेपाली नागरिकता नपाएर नै असहज जीवन जिउन बाध्य भएका नागरिकलाई संविधानको प्रावधानबमोजिम नागरिकता प्रदान गर्न सरकारले विधेयक अघि बढाएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “संविधानको मूल प्रावधानअनुरुप नै बाबुआमा नेपाली नागरिक भए पनि सन्तानलाई नागरिकता दिन सकिएन, त्यो सङ्ख्या लाखौँ रहेको छ, जसले उनीहरुको शिक्षा, दीक्षा र व्यवसायमा असर परिरहेको छ, त्यसैले  विधेयकलाई चाडो पारित गरेर कानुन बनाएर कार्यान्वयनमा लैजाने वातावरण बनाउन सहयोग गर्न आग्रह गर्दछु ।” 

    मन्त्री खाणले विधेयकलाई अगाडि बढाइसकेपछि दफाबार छलफल हुने भएकाले यसलाई परिस्कृत विधेयकका रुपमा अघि बढाइने विश्वास व्यक्त गर्नुभयो ।