प्रतिमान निमा स्मृति प्रतिष्ठानले गण्डकी प्रदेश सरकारलाई कोभिड–१९ सँग सम्बन्धित स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । प्रतिष्ठानलाई अमेरिकाबाट प्राप्त स्वास्थ्य सामग्री प्रतिष्ठानका कार्यकारी निर्देशक स्वाती थापाले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई हस्तान्तरण गर्नुभयो ।
प्रतिष्ठानले झण्डै रु ८५ लाख बराबरका गाउन आइसोलेशन, फेसशिल्ड, मास्क, एन–९५ मास्क, डिजिटल थर्मोमिटर, पिपिइ सेट, इमर्जेन्सी रिलिफ शय्या, पञ्जालगायतका सामग्री हस्तान्तरण गरेको हो ।
मुख्यमन्त्री पोखरेलले विश्वभर कोभिड–१९ को महामारी फैलिइरहेका अवस्थामा प्राप्त सहयोगको ठूलो महत्व हुने जनाउँदै सामग्रीको उचित सदुपयोग गर्न स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मधुमाया अधिकारीलाई निर्देशन दिनुभयो । सीमित स्रोत साधनबाट प्रदेश सरकार सञ्चालन भइरहेको अवस्थामा दातृ निकाय, छिमेकी र मित्र राष्ट्र, विभिन्न सङ्घसङ्स्थाको सहयोगमा कोभिड नियन्त्रण र रोकथामको काम गर्दै आएको मुख्यमन्त्री पोखरेलले बताउनुभयो ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री अधिकारीले कोरोनाले आक्रान्त बनाएका बेला प्राप्त सहयोगको अधिकतम सदुपयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रदेशका प्रमुख सचिव डा दामोदर रेग्मीले विदेशबाट प्राप्त हुने सहयोग अन्तर्राष्ट्रिय मापदण्ड अनुकूल हुनुपर्ने बताउनुभयो ।
.jpg)

