भदौ ९ काठमाडौं । पछिल्लो समय निकै चर्चामा रहेको एन्फा विवादको कारण नेपाली राष्ट्रिय पुरुष फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाल छोड्ने संकेत गरेका छन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा गठित छानबिन समितिको प्रतिवेदनप्रति असन्तुष्ट बनेका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले बुधबार सामाजिक सञ्जालमार्फत नेपाल छोड्ने सङ्केत गरेका हुन् । उनले फेसबुकमा आफू बाहिरिएको र राजनीतिक काम चालू राख्न भन्दै स्टाटस लेखेका छन् ।
एन्फा वरिष्ठ उपाध्यक्ष पङ्कज विक्रम नेम्वाङ र अल्मुताइरीबीच विवाद बढेपछि राखेपले गत साउन १९ गते छानबिन समिति गठन गरेको थियो । उक्त छानबिन समितिले बुधबार राखेप सदस्य सचिव रमेश सिलवाललाई बुझाएको प्रतिवेदनमा प्रशिक्षकको क्षमतामा प्रश्न गर्ने ठाउँ नभएको र व्यहोरा सुधार गर्नुपर्ने उल्लेख छ ।
अलमुताइरीले व्यावसायिक आचरण र बानीव्यहोरामा सुधार गर्नुपर्ने निष्कर्ष छानबिन समितिले निकालेको थियो । छानबिन समितिले ११ बुँदे निर्देशनात्मक सुझाव समेटेर प्रतिवेदन बुझाएको केही घण्टा नबित्दै अलमुताइरीले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाएका हुन्,
‘म बाहिरिएँ, राजनीतिले जे गरोस्,’ उनले लेखेका छन् । उनले के भन्न खोजेका हुन् स्पष्ट नभए पनि छानबिन समितिको प्रतिवेदन आएलगत्तै उनको यस्तो प्रतिक्रिया आउनुले उनी सन्तुष्ट नभएको स्पष्ट पार्छ ।
एन्फा परिसरभित्र दुई खेलकुद पत्रकारसँग भएको सामान्य भनाभनपछि सुरु भएको विवाद एन्फा उपाध्यक्ष नेम्वाङ हुँदै प्रशिक्षक अलमुताइरीको राजीनामासम्म पुगेको थियो ।सामाजिक सञ्जालमार्फत राजीनामा आएको र लिखित नभएको भन्दै एन्फाले प्रशिक्षक अलमुताइरीको राजीनामा बारे कुनै पनि निर्णय लिएको थिएन ।
.jpg)


