एजेन्सी । अफगानिस्तानको राजधानी काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थल नजिकै फेरि अर्को विस्फोट भएको छ ।
शक्तिशाली विस्फोटनको घटना भएर झण्डै १७० भन्दा बढी मानिसको मृत्यु भएको केही दिनपछि आइतबार फेरि अर्को विस्फोटन भएको हो ।
विमानस्थलबाट अमेरिकी नेतृत्वको सेनाले उद्धार तथा सहयोगका कार्यहरु गरिरहेका बेला त्यस कार्यलाई प्रभावित पार्ने गरी विस्फोटन भएको विश्लेषण गरिएको छ ।
विमानस्थल नजिकै पर्ने बाक्लो बस्ती भएको आवास क्षेत्रमा विस्फोटन भएको अधिकारीहरुले जानकारी दिएका छन् ।
स्थानीय समयअनुसार आइतबार साँझ ४ः५५ मा विस्फोटनको घटना भएको र अहिलेसम्म कुनै मानवीय क्षतिको विवरण प्राप्त भइनसकेको अधिकारीहरुले जनाएका छन् ।
विस्फोटनपछि काबुलको आकाशमा ठूलो धुवाँको मुस्लो देखिएको प्रत्यक्षदर्शीहरुले जानकारी दिएका छन् । विस्फोटनको घटनाप्रति यो समाचार लेख्दासम्म कसैले पनि जिम्मेवारी लिएका छैनन्।
काबुल विमानस्थल नजिकै यसअघि गत बिहीबार पनि शक्तिशाली विस्फोटन भएको थियो । घटनामा परी कम्तीमा १३ अमेरिकी सैनिकसहित कम्तीमा १७० जनाको मृत्यु भएको थियो ।
विस्फोटनका कारण अरू २०० जना घाइते भएको र उनीहरुमध्ये धेरैको अहिले पनि विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
.jpg)


