भदौ १८ चितवन । कोरोना भाइरस सङ्क्रमणको कारण विगत पाँच महिना अघिदेखि बन्द भएको मनकामना केबलकार आइतबारबाट सञ्चालनमा आउने भएको छ ।
यसअघि गत वैशाख १६ गतेदेखि घोषणा गरिएको निषेधाज्ञाका कारण बन्द गरिएको केबलकार सेवा भदौ २० बाट खुल्ने भएको हो ।
मनकामना दर्शन प्रा.ली.ले एक विज्ञप्ति जारी गर्दै कोरोना सङ्क्रमणको दर घट्दोक्रमसँगै जिल्ला प्रशासन कार्यालय गोर्खाको निर्णय अनुसार कोरोना संक्रमण सम्बन्धी स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर केबलकार सेवा सञ्चालन गर्न लागेको जानकारी दिएको छ ।
कम्पनीले, “कोभिड—१९ को कारणले बन्द भएको केबलकार तथा रेष्टुरेन्ट लगायतका सेवा यही आउँदो आइतबार भदौ २० गतेबाट स्वास्थ्य सुरक्षा मापदण्डका साथ पुन: सञ्चालन हुने जानकारी गराउँदछौँ ।” विज्ञप्तिमा भनिएको छ ।
“मन्दिर खोल्ने सम्बन्धमा जिल्ला प्रशासन कार्यालय, गोर्खाको निर्णय अनुसार नै हुने समेत जानकारी गराउँदछौँ । साथै सम्पुर्ण यात्रुहरूलाई स्वास्थ्य सुरक्षाका नियमहरू अनिवार्य पालना गरिदिनुहुन अनुरोध गर्दछौँ ।” विज्ञप्तिमा उल्लेख गरिएको छ ।
.jpg)


