सिभिल बैंक लिमिटेडको १२औँ वार्षिक साधारणसभाले बैंकको सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम बैंकको चुक्ता पूँजीको ५% बराबरको बोनश शेयर तथा कर प्रयोजनको लागि प्रतिशेयर ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्न सर्वसम्मतिले स्वीकृत प्रदान गरेको छ ।
बिहीबार सम्पन्न साधरणसभाले बैंकलाई हिमालयन बैंक लिमिटेडले प्राप्ति (एक्विजिशन) गर्ने सन्दर्भमा सो बैंकको १०० कित्ता शेयर बराबर हिमालयन बैंक लिमिटेडको ८०.२८ कित्ता शेयर प्राप्त हुने गरी शेयर आदान-प्रदान अनुपात (१००: ८०.२८) कायम गरी प्राप्ति (एक्विजिशन) कार्यलाई अन्तिम स्वीकृति प्रदान गरेको छ ।
सिभिल बैंक लिमिटेडलाई हिमालयन बैंक लिमिटेडले प्राप्ति (एक्विजिशन) गर्ने सम्बन्धमा भएको सम्पत्ति तथा दायित्वको मूल्याङ्कनकर्ताको नियुक्ती र निजलाई भुक्तानी गरिएको पारिश्रमिक, सम्पत्ति, दायित्व तथा कारोबारको मूल्याङ्कन प्रतिवेदन (ड्यू डेलिजेन्स अडिट रिपोर्ट), समझदारीपत्र, तथा अन्तिम सम्झौतापत्रलगायतका सम्पूर्ण काम कारबाहीहरूलाई अनुमोदन गरिएको छ ।
सिभिल बैंकको प्राप्ति गर्ने प्रक्रियामा नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय, धितोपत्र बोर्डलगायतका नियमनकारी निकायहरूबाट स्वीकृति लिन/अभिलेख गर्ने क्रममा भए गरेका काम कारबाही वा पूँजी संरचना वा प्रबन्धपत्र नियमावलीको संशोधनको सम्बन्धमा नियमनकारी निकायहरूबाट संशोधन, परिमार्जन तथा थपघट गर्न कुनै निर्देशन प्राप्त भएमा प्राप्त निर्देशन बमोजिम मिलाई संशोधन वा परिमार्जन समेतका सम्पूर्ण कार्यहरू गर्न सञ्चालक समितिलाई पूर्ण अख्तीयारी प्रदान गरिएको बैंकले जनाएको छ ।
उक्त साधारणसभाका सबै प्रस्तावहरू पारित भएकोमा बैंकका अध्यक्ष प्रतापजंग पाण्डेले धन्यवाद दिए । सिभिल बैंकको मर्जर कमिटीलाई विशेष आभार प्रकट गर्दै नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृतीपश्चात दुबै बैंकको एकीकृत कारोबार २०७९ माघभित्र गरिने योजना रहेको पाण्डेले बताए ।


