बुधबार, भाद्र २४ गते २०८३
images

सुपर मादी हाइड्रोपावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने

एक्सप्रेस पाना
माघ ९, २०७९ सोमबार
  • 228
    SHARES
  • सुपर मादी हाइड्रोपावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने

    काठमाडौं । सुपर मादी हाइड्रोपावर लिमिटेडले आज (माघ ९ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेपश्चात सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो।

    images

    कम्पनीले जारी पूँजीको १० प्रतिशत अथार्त २१ करोड रुपैयाँ बराबरको २१ लाख कित्ता शेयर सर्वसाधारणमा निष्काशन गर्न छुट्याएको थियो। सोमध्ये २ लाख १० हजार कित्ता वैदेशिक रोजगारीमा रहेको नेपालीहरुका लागि र १ लाख ५ हजार कित्ता शेयर सामूहिक लगानी कोषहरुको बाँडफाँट गरिएको छ। त्यसका साथै ४२ हजार कित्ता कम्पनीका कर्मचारीहरुका लागि छुट्याइएको छ। सर्वसाधारण लगानीकर्ताले बाँकी १७ लाख ४३ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

    सो आईपीओमा लगानीकर्ताले माघ १२ गतेसम्म आवेदन दिन सक्नेछन्। सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि माघ २३ गतेसम्म लम्बिनेछ। सो शेयरमा लगानीकर्ताले न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी आईआर डबल बी रेटिङ्ग प्रदान गरको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

    images

    कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरी सम्पूर्ण आस्बा सेवा दिइरहेका बैंक तथा वित्तीय संस्था र तिनका तोकिएको शाखा कार्यालयबाट सि आस्बा प्रणालीबाट आवेदन दिन सकिनेछ। यस कम्पनीले कास्की जिल्लाको मादी गाउँपालिकाको सिमाना भएर बग्ने मादी नदीको बहाव सदुपयोग हुने गरी ४४ मेगावाट क्षमताको सुपार मादी जलविद्युत आयोजना निर्माण गरिरहेको छ। यस आयोजनाको अनुमानित लागत ८ अर्ब ३५ करोड रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत १८ करोड ९७ लाख ७२ हजार रुपैयाँ रहेको छ।

    कम्पनीले २०७८ जेठ २८ गतेदेखि व्यवसासिक उत्पादन सुरु गर्ने लक्ष्य लिएको थियो। यद्यपि, कोभिड र बाढी पहिरोका कारण सो सफल हुन नसकेको कम्पनीले बताएको छ। कम्पनीले २०७३ चैत १७ गते विद्युत उत्पादन गर्ने अनुमति प्राप्त गरेको थियो। आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ६.२८ वर्ष रहेको छ भने डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि ११.१० वर्ष रहेको छ।

  • सम्बन्धित विषय:

  • # IPO