नेपाल राष्ट्र बैंकले ७ अर्ब रुपैयाँको विकास ऋणपत्र २०८४ ‘ञ’ बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले माघ २५ गते ५ वर्षे अवधिको विकास ऋणपत्र जारी गर्ने भएको हो । यो ऋणपत्र भोलि माघ २४ गते बोलकबोलमार्फत बिक्री गरिने छ ।
यो ऋणपत्रमा इच्छुक बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले बोलपत्र पेस गर्न सक्ने छन् ।यो ऋणपत्रको ब्याजदर पनि बोलकबोलमार्फत हुनेछ । ब्याज भुक्तानी अर्धवार्षिक हुने र आर्जित ब्याजमा ब्याजकर लाग्ने राष्ट्र बैंकले जनाएको छ । यो ऋणपत्र २०८४ माघ २५ गते परिपक्व हुनेछ । यो ऋणपत्र धितो राखी कर्जा लिन तथा दिन पाइने छ ।
बोलकबोलमा इच्छुक खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धीका रुपमा सहभागी हुन पाउनेछन् । प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलकबोलहरुलाई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात ५.९५ अर्ब र १.०५ अर्ब छुट्याइएको छ । अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमका लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरुलाई बिक्री गरिने छ ।
अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुन आएमा बोलवालाहरुलाई समानुपातिक रुपमा ऋणपत्रको रकम बाँडफाँड गरिने बैंकले जनाएको छ ।


