आइतबार, कार्तिक १६ गते २०८३
images
images

नयाँ बसपार्कमा ५६ काउण्टर थप

एक्सप्रेस पाना
आषाढ २, २०८० शनिबार
  • 442
    SHARES
  • नयाँ बसपार्कमा ५६ काउण्टर थप

    काठमाडौंभित्रबाट उपत्यका बाहिर चल्ने सार्वजनिक जीप तथा माइक्रोबस नयाँ बसपार्कभित्रबाट सञ्चालन हुन थालेसँगै ५६ टिकट काउण्टर थप भएका छन् ।

    images


    काठमाडौं महानगरपालिकाले काठमाडौंभित्रको सार्वजनिक सवारी साधनलाई व्यवस्थित बनाउनका लागि असार १ गतेदेखि नयाँ बसपार्कभित्रबाट लामो, मध्यम तथा छोटो दूरीका सवारीसाधन सञ्चालनका लागि ५६  टिकट काउण्टर थपिएको हो ।


    यसअघि काठमाडौंभित्रको बल्खु, कलंकी, बालाजु, माछापोखरी, गोङ्गबु, कोटेश्वर लगायतका क्षेत्रमा काउण्टर राखेर सञ्चालन हुँदै आएका माइक्रोबस नयाँ बसपार्कभित्रबाट सञ्चालन हुन थालेपछि त्यहाँ टिकट काउण्टर थपिएको हो ।

    images


    काठमाडौं महानगरपालिकाले शुक्रवार बिहानैदेखि चक्रपथ क्षेत्रमा अव्यवस्थितरुपमा सञ्चालन भएका टिकट काउण्टर समेत हटाएको थियो । 


    काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डेले गोङ्गबु, कलंकी, चाबहिल क्षेत्रमा अव्यवस्थित रूपमा राखिएका टिकट काउण्टर हटाइएको जानकारी दिए ।

    महानगरपालिकाको निर्णय कार्यान्वयनसँगै माइक्रोबस तथा जीप नयाँ बसपार्कभित्रबाट सञ्चालन भएका छन् । माइक्रोबस तथा जीपलाई सञ्चालन गर्नका लागि लोत्से मल पछाडि पार्किङ तथा काउण्टरको व्यवस्था गरिएको छ ।

    नयाँ बसपार्कभित्रबाट माइक्रोबस तथा जीपलाई सञ्चालन गर्नका लागि यातायात व्यवसायीको सहकार्यमा नयाँबसपार्क सञ्चालन गरेको लोत्से बहुउदेश्यीय प्रालिले ५६ नयाँ टिकट काउण्टर थप गरेको छ ।

    लोत्से बहुउद्देश्यीय प्रालिका मानव संशाधन प्रमुख पंकज मल्लले काठमाडौं महानगरपालिकाले गरेको निर्णयको कार्यान्वयनका लागि नयाँबसपार्कभित्र जीप तथा माइक्रोबसलाई ५६ नयाँ टिकट काउण्टर निर्माण गरिएको बताए ।

    ‘नयाँ बसपार्कभित्रबाट सार्वजनिक सवारी साधनलाई व्यवस्थित र भरपर्दो ढंगले सञ्चालन गर्नका लागि लोत्से बहुउदेश्यीय प्रालि लागेको छ,’ उनले भने ।

    यसअघि नयाँ बसपार्कबाट ठूला सार्वजनिक सवारी साधन मात्र सञ्चालन हुँदै आएका थिए ।

    यसअघि काठमाडौंबाट पोखरा, नारायणगढ, डुम्रे, दमौली, लमजुङ, गोरखा, धादिङ, त्रिशूली बागलुङ, बेनी, स्याङ्जा वालिङ, बुटवल, भैरहवा, कोटेश्वरबाट विपी राजमार्ग हुँदै पूर्व जाने माइक्रोबस र बल्खुबाट हेटौंडा चल्ने टाटासुमो सञ्चालन हुँदै आएका थिए ।

    काठमाडौं उपत्यकाभित्र प्रवेश गर्ने सार्वजनिक सवारी साधनलाई व्यवस्थित तथा पार्किङ गर्नका लागि काठमाडौं महानगरपालिकाले विक्रम संवत् २०५६ सालमा ल्होत्से बहुउद्देश्यीय प्रालिसँग सम्झौता गरी नयाँबसपार्क सञ्चालनमा ल्याएको थियो ।

    १६१ रोपनी क्षेत्रफलमा फैलिएको नयाँ बसपार्कमा ८०० भन्दा बढी ठूला सार्वजनिक सवारी साधन पार्किङ गर्नमिल्ने क्षमता रहेको छ ।