पोखरा । विश्व समुदायले जलवायु परिवर्तन अनुकूलनका लागि सङ्कलन गरेको रकमबाट नेपालले ५० करोड पाउने भएको छ। जलवायु परिवर्तनलाई कम गर्न नेपालले गरेका अभ्यास र मेहनतका आधारमा उक्त रकम आउन लागेको हो।
त्यो सबै रकम यसपालि मुस्ताङ पठाउने निर्णय भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताए। ‘जलवायु संरक्षण बापत अन्तर्राष्ट्रिय संस्थाबाट नेपाललाई ५० करोड प्राप्त हुँदै छ। त्यो सबै रकम मुस्ताङलाई दिँदैछौं,’ उनले भने, ‘यसबाट पनि पुष्टि हुन्छ कि सरकार मुस्ताङको ऐतिहासिकता, भौगोलिक विशिष्टता, संस्कृति, परम्परा र उत्पादनप्रति निकै नै संवेदनशील छ।’
गत साउन २८ गते मुस्ताङको कागबेनीमा बाढीका कारण ठुलो क्षति भएको छ। मुस्ताङ सबैभन्दा कम पानी पर्ने क्षेत्र पनि हो। तर पछिल्ला वर्षहरूमा जलवायु परिवर्तनको असरका कारण बर्सात हुन थालेको छ। एक अध्ययन अनुसार मुस्ताङ जिल्ला नेपालमै सबैभन्दा बढी तापक्रम बढेको जिल्ला पनि हो। अन्य क्षेत्रमा वर्षेनी ०.०१ प्रतिशत तापक्रम बढ्छ भने मुस्ताङमा ०.१ प्रतिशत तापक्रम वृद्धि भएको उक्त अध्ययनले देखाएको छ। यसको अर्थ अन्य क्षेत्रमा भन्दा १० गुणा बढी तापक्रम मुस्ताङमा बढेको छ।
पछिल्ला समय नेपालको हिमाली क्षेत्रमा तापक्रम अत्यधिक बढेको छ। हिउँ पग्लिने र त्यसबाट बाढी आएर धनजनको क्षति हुन थालेको छ। २०७८ सालमा मनाङमा आएको बाढीलाई पनि जलवायु परिवर्तनसँग जोडेर हेरिएको छ। हिमाली क्षेत्रका नागरिकहरूले वर्षाबाट जोगिन छाना फेर्न थालेका छन्। केही वर्ष अघिसम्म माटोकै घर र माटोकै छत भएका यहाँका घरहरूमा अहिले जस्तापाता र कंक्रिट देखिन्छ।
घरको बनोट फेर्नुमा जलवायु परिवर्तनलाई हेरिएको छ । प्रधानमन्त्री प्रचण्डले बुधबार मुस्ताङमा जलवायु परिवर्तनले पारेका असरबारे स्थानीयसँग अन्तरक्रिया गर्ने क्रममा हिमालय क्षेत्रको संरक्षणका लागि सरकार गम्भीर भएर लागेको बताए।
‘जलवायु परिवर्तनको प्रत्यक्ष अनुभव गर्न पाउँदा र विगतमा भएको क्षतिको अवलोकन गर्न पाउँदा धेरै ज्ञान प्राप्त भएको छ। पछिल्लो पटक धेरै वर्षपछि अविरल वर्षा, बाढी र त्यसले पु¥याएको क्षति विशिष्ट प्रकृतिको छ। सरकारले गम्भीरता पूर्वक लिएको छ,’ उनले अघि भने, ‘जलवायु परिवर्तन हाम्रो लागि पनि राष्ट्रिय चुनौतीको रूपमा छ। दक्षिण एसिया र खासगरी हिमालय पर्वत शृङ्खला जसरी हिउँ पग्लने क्रम सुरु भएको छ। यसले प्रत्यक्ष जनजीवन र वातावरणमा असर गरेको छ।
यो निकै नै गम्भीर प्रकृतिको छ।’ उनले अन्तर्राष्ट्रिय फोरमहरुमा पनि नेपालमा जलवायु परिवर्तनले पारेको असरबारे निरन्तर आवाज उठाउँदै आएका छन्। संयुक्त राष्ट्र संघको महासभा र रोममा भएको खाद्य सम्मेलनमा नेपालमा जलवायु परिवर्तनबाट परेको भयानक असर र जनधनमा परेको क्षतिबारे जानकारी गराएको प्रचण्डले बताए।
‘विश्वको ध्यानाकर्षण भएको छ। हिमाल र हिमाली क्षेत्रमा भएको जलवायु परिवर्तनको असरबारे विश्वले ध्यान नदिने हो भने र विश्वले जलवायु परिवर्तनका लागि छुट्याएको रकम यहाँ केन्द्रित नगर्ने हो भने ठुलो मानवीय क्षतिको सामना गर्नुपर्ने हुन सक्छ,’ उनले भने । कोप २८ मा पनि नेपालको प्रतिनिधित्व गरेर जाँदैछु।
जलवायु परिवर्तनकै लागि यो कार्यक्रम राखिएकोले नेपालमा जोखिम न्यूनीकरणका लागि कोषको व्यवस्था गरिदिन पहल गर्ने उनले बताए। जलवायु परिवर्तनकै असरबारे प्रत्यक्ष जानकारी गराउन संयुक्त राष्ट्र महासङ्घको महासचिवलाई नेपाल घुम्ने निम्तो दिएको उनले सुनाए। ‘जलवायु परिवर्तनको बारेमा प्रत्यक्ष देखाउने प्रयास गरेको थिएँ। १३ तारिखमा नै आउने कुरा थियो। इजरायल र हमासबीचको द्धन्द्धले केही दिन सरेको छ। केही दिनपछि आउँदै हुनुहुन्छ,’ प्रचण्डले थपे, ‘मुस्ताङको क्षति अलि विशिष्ट छ। सबै मिलेर यसको सामना गर्नुपर्ने छ।’ फरक प्रसङ्गमा उनले मुस्ताङको उत्पादनलाई बजारीकरण गर्न नयाँ शिराबाट अगाडि बढाउने प्रतिबद्धता जनाए। ;fef/ /ftf]kf6L
.jpg)


