काठमाडौं, मंसिर १७ । निजी टेलिकम कम्पनी एनसेल अहिले आफ्नो सेयर विक्री प्रकरणमा चर्चामा रहेको छ।
एनसेलको मुख्य लगानीकर्ता आजियाटाले आफ्नो ८० प्रतिशत सेयर बेलायती कम्पनी स्पेक्ट्रलाइट युकेलाई बेचेपछि यो विषय अहिले चर्चामा रहेको हो। आजियाटाले आफुले किनेको भन्दा निकै कम मूल्यमा बिक्री गरेपछि यो प्रकरण कर छली गर्ने नयाँ योजना भएको विश्लेषण समेत भएको छ।
एनसेलमा भएको ८० प्रतिशत शेयर आजियाटाले २०७२ चैत २९ मा नर्वेली कम्पनी टेलियासोनेराबाट १ अर्ब ३६ करोड डलरमा खरिद गरेको थियो। जुन तत्कालीन विनिमयअनुसार १ खर्ब ४३ अर्ब रुपैयाँ थियो। तर अहिले सोही शेयर आजियाटाले बेलायती कम्पनी स्पेक्ट्रलाइट युकेलाई ६ अर्ब ६६ करोड रुपैयाँमा बिक्री गरेको हो। ८ वर्षअघि खरिद गरेको भन्दा जम्मा ४.६६ प्रतिशत मात्र रकममा सेयर बेचेर बाहिरिएको हो। अब आजियाटा कानुनी छिद्रको फाइदा उठाएर सेयर कारोबार गरेको विश्लेषण गरिएको छ।
एनसेलको सेयर बिक्री प्रकरणमा नियामक निकाय दूरसञ्चार कम्पनीको अनुमति समेत नलिएको बुझिएको छ। सेयर खरिदबिक्री विदेशमै गरिएको भएपछि अब नेपालमा यो कारोबार करको दायरामा आउने सम्भावना कम देखिएको बताइएको छ। साथै सरोकारवालाहरुले विदेशी कम्पनीलाई आफ्नो सम्पत्ति बेच्ने अधिकार भए पनि राज्य हुने नोक्सानी रोक्न नियामक निकाय मुकदर्शक मात्र बनेको देखिएको छ।
अहिले एनसेलको सेयर किनेको स्पेक्ट्रलाइट युके कम्पनि नेपाली सतिश लाल आचार्यको भएको र यो कम्पनि बेलायतमा गत सेप्टेम्बर २६ मा दर्ता भएको एक डलरको कम्पनि रहेको उपलब्ध कागज पत्रबाट स्पष्ट भएको छ। एक डलरको कपानीले एनसेलको ८० प्रतिशत सेयर किनेको यस घटनाले यो प्रकरण आफैमा शंकास्पद देखिएको छ।
एनसेल पटक पटक कर छली प्रकरणमा परेको थियो । २०७२ मा एनसेलको स्वामित्व बिक्रीबापत् ६२ अर्ब ६३ करोड ४९ लाख रुपैयाँ लाभकर तिर्नुपर्ने गरी ठूला करदाता कार्यालयले मूल्यांकन गरेपछि एनसेलले अन्तर्राष्ट्रिय निकायमा समेत मुद्दा दायर गरेको थियो। अन्तर्राष्ट्रिय मध्यस्थकर्ताले पनि गत जुनमा सरकारको पक्षमा अन्तिम निर्णय दिएको थियो।
'स्टेट अफ ट्याक्स जस्टिस' नामक संस्थाले सन् २०२२ मा गरेको अध्ययनले विश्वभरका बहुराष्ट्रिय कम्पनी ४ सय ८० अर्ब डलरभन्दा बढीको करछलीमा संलग्न भएको देखाएको थियो।
.jpg)


