कार्यकालको शुरुमा एक साथ रहेका धरान उपमहानगरकाम मेयर हर्क साम्पाङ र उपमेयर अईन्द्र विक्रम बेघाबीच फाटो परेको देखिएको छ।
आइतबार बसेको कार्यपालिका बैठकमा समेत यसको झल्को देखिएको छ। आइतबारको कार्यपालिका बैठक मेयर र उपमेयरको भनाभन भएपछि पहिलो बैठक मेयर साम्पाङले स्थगित गरेका थिए।
त्यसपछि कार्यपालिकाको दोस्रो बैठकको शुरुमै उपमेयर बेघाले आफुले मेयरलाई असहयोग गरेको स्पष्ट गर्न आग्रह गरेपनि मेयर साम्पाङले उनलाई बस्न आग्रह गर्दै बैठक अगाडी बढाएका थिए। मेयर साम्पाङले बैठक अगाडी बढाईरहदा उपमेयर बेघा बोलिरहेका थिए।
यस अघि पुस १३ गते उपमेयर बेघाले प्रमुख हर्क साम्पाङलाई जिम्मेवार भएर अघि बढ्न आग्रह गरेका थिए।
प्रेस विज्ञप्ति जारी गर्दै उनले राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीर कार्यकक्षबाट हटाएको विषयमा जिम्मेवार भएर अघि बढ्न आग्रह गरेका थिए । उनले प्रमुखले गरेको उक्त कार्य संविधानको मर्म विपरीत रहेको भन्दै माफी मागेका हुन्।
उनले भनेका थिए- ‘धरान उपमहानगरपालिकाका नगर प्रमुखज्यूले आफ्नो कार्यकक्षबाट राष्ट्र प्रमुख सम्माननीय राष्ट्रपति र प्रधानमन्त्रीज्यूको फोटोहरू हटाएको विषयले दुःखी बनाएको छ, जसबाट सम्माननीयमाथि पर्न गएको असर प्रति दुःख व्यक्त गर्दै क्षमा समेत माग्दछु।'
उनले नेपालको संविधान २०७२ को मर्म र भावना अनुसार संविधानले प्रदान गरेको सीमा र घेरा भित्र रहि तिनै तहको सरकारको भूमिकालाई प्रभावकारी बनाउन, एक अर्काको परिपूरक बनाउन तहगत सम्बन्ध र जिम्मेवारी सम्मानित र मर्यादित बनाउन सबैको दायित्व र जिम्मेवारी रहेको बताएका छन्।
उनले विज्ञप्ति मार्फत भनेका छन्,‘यही व्यवस्था अन्तर्गत एक तहको नेतृत्वले सामाजिक सञ्जाल मार्फत संविधान र संघीय लोकतान्त्रिक व्यवस्था प्रति अनादर हुने किसिमका अभिव्यक्ति दिनु प्रचलित कानुनको बर्खिलाप गर्नु हो, व्यवस्थाको विरोध गर्नु हो, त्यसकारण संविधानको पालनाकर्ता र कार्यान्वयनकर्ता सबैभन्दा जिम्मेवार हुनुपर्दछ, अन्त्यमा, नगर प्रमुख ज्यूले जिम्मेवार भई सबै तह र तप्कालाई समेटेर अघि बढ्न आग्रह गर्दछु।’
.jpg)


