मंगलबार, कार्तिक १८ गते २०८३
images
images

नेपाल र चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री प्रचण्ड

एक्सप्रेस पाना
पौष २९, २०८० आइतबार
  • 237
    SHARES
  • नेपाल र चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौँ, पुस २९ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताउनुभएको छ। 

    images

    चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवसरमा आज यहाँ आयोजित विशेष समारोहमा उहाँले शान्तिपूर्ण सहअस्तित्व र पञ्चशीलका सिद्धान्तका आधारमा दुई देशबीचको सम्बन्ध झाङ्गिँदै गएको बताउनुभयो। प्रधानमन्त्रीले भन्नुभयो, “हामीले असल मित्रका रुपमा एकअर्काको संवेदनशीलतालाई नजिकबाट बुझेका छौँ। शान्तिपूर्ण सहअस्तित्व र पञ्चशीलका सिद्धान्तका आधारमा हाम्रो सम्बन्ध रहिआएको छ।”

    नेपाल एक चीन सिद्धान्तप्रति दृढ रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले भन्नुभयो, “यस सम्बन्धमा हाम्रो प्रतिबद्धता स्पष्ट छ। आन्तरिक तथा बाह्य मामिलामा आएको बदलावबाट हाम्रो प्रतिबद्धता कुनै हालतमा प्रभावित हुँदैन।” संस्कृति र परम्पराले हामी एकापसमा बाँधिएका छौँ भन्दै प्रधानमन्त्रीले संस्कृति र परम्पराले नै दुई देशबीचको जनस्तरको सम्बन्धलाई सुदृढ तुल्याउने बताउनुभयो।

    images

    आफ्नो चीन भ्रमणका बेला जारी भएको संयुक्त वक्तव्य स्मरण गर्दै प्रधानमन्त्रीले भन्नुभयो, “ताइवान चीनकै अभिन्न अङ्ग हो। ‘ताइवान स्वतन्त्रता’का सम्बन्धमा नेपालको प्रस्ट दृष्टिकोण छ। मेरो चीन भ्रमणका क्रममा जारी संयुक्त वक्तव्यमा यसलाई प्रस्ट पारिएको छ।”

    चीनविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने स्पष्ट पार्दै प्रधानमन्त्रीले दुई देशको सभ्यता नदी र हिमशृङ्खलाले मात्र जोडिएका छैनन्, यसमा हाम्रा साझा संस्कृति र जनस्तरको सम्बन्ध पनि प्रमुख रहेका छन् भन्नुभयो। 

    आफूले हालै गरेको  चीनको औपचारिक भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी चीनफिङसँग भएको भेटवार्ताका क्रममा हाम्राबीचमा नेपाल-चीन सम्बन्धका विविध आयाममा छलफल भएको उहाँले स्मरण गर्नुभयो।

    नेपालका लागि चीनका राजदूत छन् सङले चीन र नेपाल रणनीतिक साझेदार भएका बताउँदै ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ अन्तर्गत विकासमा साझेदारी गर्न चीन प्रतिबद्ध छ भन्नुभयो।