आम जनता पार्टी (आजपा) ले मधेश आन्दोलनको १७ वर्ष पूरा हुँदापनि मधेशी जनताको अविस्मरणीय त्याग र शहीदहरुको गौरवशाली बलिदानलाई उपहास गरिएको भन्दै चिन्ता व्यक्र गरेको छ।
आजकै दिन ५ माघ २०६३ मा प्रथम मधेश आन्दोलनको क्रममा सिराहाको लहानमा रमेश महतो शहीद भएका थिए। प्रथम बलिदानीको सम्झनामा मधेशकेन्द्रित दल र प्रदेश सरकारले ५ माघलाई बलिदानी दिवसको रुपमा मनाउँदै आएको छ।
आजपाले मधेश आन्दोलनका प्रथम शहीद महतोको सहादत दिन ५ माघको सन्दर्भ पारेर मनाईने बलिदान दिवसको विशेष अवसरमा देश र जनताका लागी आफ्नो अमूल्य जीवनको उत्सर्ग (बलिदान) गर्नेहरुप्रति उच्च श्रद्धा एवं सम्मान व्यक्त गरेको छ।
आजपाका प्रवक्ता चन्द्रभुषण साहले आज एक विज्ञप्ति जारी गर्दै आम मधेशी जनताको अविस्मरणीय त्याग र शहीदहरुको गौरवशाली बलिदानलाई उपहास गर्दै मधेशका कथित ठेकेदार र मसीहाहरुले आफ्नो पर्सनल, पारिवारिक र पार्टीगत सत्ता स्वार्थ सिद्धिको संकिर्णतामा रुमलिरहेको आरोप लगाएका छन्।
‘मधेश विद्रोह मार्फत प्राप्त जनादेशको मुल र भावना विपरीत कथित मधेश केन्द्रित दल र तीनका छद्मवेशी बहुरुपिया नेताहरु नै विगतदेखि वर्तमानसम्म पटक पटक सत्ता लिप्सा र कुर्सीका लागी हाम्रा महान शहीदहरुको सपनासंग सौदाबाजी गर्दै आएको घृणित ठगी, भ्रष्टिकृत धोखाधडी, बेईमानी र गद्दारीप्रति कडा शब्दमा निन्दा एवं घोर भर्तस्ना गर्नुको साथसाथै आम जनभावना र शहीदहरुको अधुरा सपनाहरुलाई सार्थकता प्रदान गर्ने गराउने पथमा हामी निरन्तर अगाडि बढिरहने दृढ़ संकल्प समेत गर्दछौं’ आजपा प्रवक्ता साहले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ।
समग्र मधेशको पहिचान एवं स्वाभिमानलाई केवल सप्तरीदेखि पर्साभित्र ८ जिल्लामा सिमित हक अधिकार विहीन प्रदेश बनाउने, कांग्रेस–एमालेको काँधमा आलोपालो सरकार चलाउने, कुर्सीका लागी पटक–पटक मधेशलाई बेचेर अपमानित गर्ने, भ्रष्टाचार र जंगलराजको किर्तिमान खडा गर्ने मधेशका ठग, दलाल, पथभ्रष्ट, चोर एवं गद्दार नेताहरुसंग साँचो अर्थमा भन्ने हो भने शहीदहरुप्रति श्रद्धाञ्जली समेत व्यक्त गर्ने कुनै नैतिक धरातल अब बाँकी नरहेको आजपाले जनाएको छ। यी गद्दारहरुलाई तत्काल बहिष्कार गरी दण्डित गर्न आम न्याय पक्षधर जनतासंग आजपाले हार्दिक अनुरोध एवं अपील समेत गरेको छ।
हरेक ५ माघमा मनाइने बलिदानी दिवसको अवसरमा मधेस प्रदेशमा आज सार्वजनिक बिदा दिइएको छ। तराई मधेसमा भएको अधिकार प्राप्तिको आन्दोलनको क्रममा ज्यान गुमाएका शहीदहरूको स्मरणमा विगत पाँच वर्षदेखि मधेस प्रदेश सरकारले हरेक माघ ५ गते बलिदानी दिवस मनाउँदै आएको छ। माघ ५ गते सिराहाको लहानमा रमेश महतोको गोली लागेर ज्यान गएपछि मधेसका सबै जिल्लामा आन्दोलन सुरु भएको थियो।
.jpg)


