आइतबार, भाद्र २८ गते २०८३
images

स्वास्थ्यमन्त्री बस्नेतद्वारा आँखाको सर्जरी युनिट उद्घाटन

एक्सप्रेस पाना
माघ २६, २०८० शुक्रबार
  • 276
    SHARES
  • स्वास्थ्यमन्त्री बस्नेतद्वारा आँखाको सर्जरी युनिट उद्घाटन

    झापाको बिर्तामोड नगरपालिका–३ स्थित मेची आँखा अस्पतालमा आँखाको विशिष्टीकृत उपचारअन्तर्गत ‘लेजर रिफ्राक्टीभ सर्जरी युनिट’ सुरु भएको छ। 

    images

    अस्पतालको २७औँ वार्षिकोत्सवका अवसरमा शुक्रबार आयोजित एक कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले ‘लेजर रिफ्राक्टीभ सर्जरी युनिट’को उद्घाटन गरेका छन्। वार्षिकोत्सव समारोहमा मन्त्री बस्नेतले स्वास्थ्य शिक्षा र स्वास्थ्य क्षेत्रलाई उत्कृष्ट बनाउन आफू लागिपरेको बताए।

    दृष्टि पब्लिक प्राइभेट पार्टनरसीपअनुसार मातृका आँखा केन्द्रसँगको सहकार्यमा करिब रु १६ करोडको लागतमा मेसिन खरिद गरी ‘लेजर रिफ्राक्टीभ सर्जरी युनिट’ स्थापना गरिएको अस्पतालका सचिव गणेश पोखरेलले जानकारी दिए। सन् २०२३ मा अस्पतालले बहिरङ्ग सेवाअन्तर्गत एक लाख ९७ हजार आठ सय ७२ र विभिन्न शिविरमार्फत ७९ हजार बिरामीको आँखा परीक्षण गरेको थियो। 

    images

    शल्यक्रिया सेवातर्फ अस्पलताबाट ३४ हजार पाँच सय ४५ जना तथा बाह्य कार्यक्रमअन्तर्गत एक हजार आठ सय १३ जनाको आँखाको शल्यक्रिया गरिएको छ। अधिकांशको आँखाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको हो। रेटिनाको शल्यक्रिया गराउने सात हजार चार सय दुई, कोर्नियाको शल्यक्रिया गराउने दुई हजार आठ सय पाँच, अकुलोप्लास्टिको शल्यक्रिया गराउने तीन हजार पाँच सय ६७ तथा अन्य शल्यक्रिया गराउने ६ सय २७ जना रहेका छन्।

    अस्पतालले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत ५१ हजार नौ सय १५ बिमितहरूको आँखा परीक्षण गरेको छ भने पाँच हजार छ सय ६१ बिमितको आँखाको शल्यक्रिया गरिएको अस्पतालका स्वास्थ्य निर्देशक पुरुषोत्तम जोशीले जानकारी दिए।