काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भ्रष्टाचारको मुद्दामा हदम्याद राख्न नहुने बताएका छन् ।
बिहिबार प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा भ्रष्टाचार निवारण ऐन २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा महामन्त्री थापाले भ्रष्टाचार मुद्दा लगाउनका लागि हदम्याद कानूनमा राख्न नहुने बताएका हुन् ।
उनले राजनीतिक दलका नेताहरू मिलेर भ्रष्टाचार गर्ने र एकले अर्काको भ्रष्टाचार ढाकछोप गर्नका लागि सहमति गर्ने भएकाले हदम्याद राख्न नहुने बताए ।
महामन्त्री थापाले भने, "हद म्यादका सम्बन्धमा हामीभित्र व्यापक छलफल, बहस भइरहेको छ । आज नयाँ व्यवस्था ल्याउनुभएको छ । सार्वजनिक पदमा बसेका व्यक्तिले सार्वजनिक सम्पत्तिमा हानी पु¥याउँछ भने त्यस सम्बन्धमा हदम्याद लाग्दैन । व्यक्तितग रूपमा भ्रष्टाचार गर्छ र सार्वजनिक सम्पत्तिको क्षति पु¥याएको छैन भने निश्चित अवधिभित्र अनुसन्धान सक्नुपर्छ भनेर हदम्याद आएको हो भन्ने मैले बुझेको छु,’ ।’अहिलेको हाम्रो अनुभवले हामी जुन राजनीतिक अवस्थमा हामी छौं, नेपालमा सबैभन्दा राम्रोसँग मिलिजुली गर्ने काम भनेको भ्रष्टाचार हो । एउटाले अर्कोलाई तँ मेरो बना, म तेरो बनाउँछु; तँ मेरो नहेर, म तेरो हेर्दैन भनेर मिल्ने भएको हुनाले यो सन्दर्भमा विशेष अवस्था छ । विशेष अवस्था भएकाले हदम्याद राख्न हुन्न ।"


