आइतबार, कार्तिक १६ गते २०८३
images
images

एमाले अध्यक्ष केपी शर्मा ओली दक्षिणपन्थी हुन्: झाँक्री

एक्सप्रेस पाना
आश्विन १८, २०७८ सोमबार
  • 549
    SHARES
  • एमाले अध्यक्ष केपी शर्मा ओली दक्षिणपन्थी हुन्: झाँक्री

    असोज १८ दैलेख । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का सचिव रामकुमारी झाँक्रीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई दक्षिणपन्थी भएको बताएकी छन् । जिल्लास्तरिय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न दैलेख पुगेकी झाँक्रीले यस्तो बताएकी हुन् ।

    images

    समाजवादी प्रेस संगठनद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सचिव झाँक्रीले केपी ओलीको अकर्मण्यताका कारण अर्को पार्टीका नेतालाई प्रधानमन्त्री बनाउनुपरेको बताइन् । उनले ओली र ओली प्रवृत्तिका व्यक्तिहरू वडा तहसम्मै रहेको समेत औँल्याइन् ।

    तीनै तहका निर्वाचनहरू समयमै सम्पन्न हुने बताउँदै झाँक्रीले भनिन्, ‘हाम्रो पार्टीले आगामी निर्वाचनसम्म नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई समर्थन गर्नेछ ।' उनले निर्वाचनमा पनि नेपाली कांग्रेससँगै सहकार्य गरेर जाने बताइन् । उनले नेकपा (एकीकृत समाजवादी)ले केपी ओली नेतृत्वको नेकपा एमालेभन्दा दुई सिट भए पनि बढी जित्ने दाबी गरिन् ।

    images

    सोही अवसरमा उपमहासचिव प्रकाश ज्वालाले आफूहरूले कम्युनिस्ट आन्दोलनलाई एकीकृत बनाउने नेतृत्व गरेको दाबी गरे । संविधानमा प्रधानमन्त्रीले संसद् विघटन गर्न पाउने व्यवस्था नै नभएको बताउँदै उपमहासचिव ज्वालाले केपी शर्मा ओलीले संविधान मिचेर संसद् विघटन गरेको आरोप लगाए । दुई पटक संसद् विघटन भएसँगै नेपालको राजनीति उथलपुथल भएको उनको भनाइ थियो ।

    ओली बादशाह बन्न खोजेको आरोप लगाउँदै ज्वालाले एमाले पार्टी कम्युनिस्ट नभएको दाबी गरे । आफूहरूले संविधानमाथिको आक्रमणविरुद्ध विद्रोह गरेको उनको भनाइ छ । ‘हामीले नेकपा एमाले विभाजन गरेका होइन, हामी त पार्टी एकताको पक्षमा उभिएका हौँ', उनले भने, ‘नेकपा (एकीकृत समाजवादी) पार्टी एमालेको क्रान्तिकारी पुनर्गठन भएको हो ।'