काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले डेडिकेटेड लाइनको वक्यौता उठाउने सम्बन्धमा मन्त्रालय र नेपाल विद्युत प्राधिकरणका बीचमा मतभेद नभएको बताएका छन् ।
बुधवार मन्त्रालयको एक सय दिनको मुख्य उपलब्धिहरु सार्वजनिक गर्न आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री खड्काले डेडिकेटेड लाइनको वक्यौता उठाउने सम्बन्धमा मन्त्रालय र विद्युत प्राधिकरणका बिचमा कुनै मतभेद नभएको स्पष्ट पारेका हुन् ।
उनले यो विषय संसदीय समितिमा पुगिसकेको भन्दै संसदीय समितिबाट केही निर्णय आउने विश्वास व्यक्त गरे ।
सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिँदै मन्त्री खड्काले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउनुपर्ने आवश्यकताको महशुस नगरेको बताए ।
उनले भने,"डेडिकेटेड लाइनको कुरा अहिले संसदमा प्रवेश गरिसकेको विषय छ । लेखा समितिमा छलफल चलिराखेको छ । त्यहाँबाट केही निर्णय आउँला । हामी प्राधिकरण मन्त्रालयका बीचमा पनि छलफल । व्यवसायीहरु बीचमा पनि छलफल भइराखेको छ । व्यक्तिगत ढङ्गले अथवा समूह–समूहले, कम्पनी कम्पनीमा प्रयोग गरेको विषय भएका कारणले उहाँहरुसँग व्यक्तिगत ढङ्गले पनि कसरी असुल उपर गर्न सकिन्छ, कसरी तिराउन सकिन्छ उहाँहरुले उपभोग गरेको कुरा । त्यसको प्रमाण जुटाउने पनि कामहरु भइराखेको छ । हामी छलफलमा छौँ । कुलमान घिसिङलाई हटाउने भन्ने कुरा हास्यास्पद कुरा हो ।(पत्रकारको प्रश्नको जवाफ दिँदै) । उहाँलाई(कुलमानलाई) सोध्नुभए पनि हुन्छ । सबैले उत्साहपूर्वक काम गरिरहनु भएको छ । हटाइरहनुपर्ने आवश्यकताको महशुस गरेको छैन ।"
.jpg)


