काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र अजरबैजानका राष्ट्रपति इलहाम अलियेफबीच भेटवार्ता भएको छ ।
बिहीबार अजरबैजानको बाकुमा भएको भेटवार्तामा राष्ट्रपति पौडेलले सबै विकसित मुलुकहरूलाई जलवायु परिवर्तनका असर सम्बोधन गर्न व्यक्त गरिएका आफ्ना प्रतिबद्धता पूरा गर्न आग्रह गरेका छन् ।
राष्ट्रपति पौडेलले नेपालले अत्यन्त न्यून कार्बन उत्सर्जन गरे पनि जलवायु परिवर्तनको ठूलो प्रभाव व्यहोरिरहेको बताए ।
राष्ट्रपति पौडेलले अजरबैजानका उनका समकक्षी अलियेफको सक्षम नेतृत्वमा आयोजना भइरहेको कोप– २९ को पूर्ण सफलताका लागि बधाई दिँदै सम्मेलनले पारित गर्ने घोषणापत्रले नेपालजस्ता अत्यन्त न्यून कार्वन उत्सर्जन गर्ने तर जलवायु परिवर्वनको ठूलो असर व्यहोरिरहेका मुलुकहरूको हक र हित संरक्षण गर्ने विश्वास व्यक्त गरे ।
भेटवार्तामा अजरबैजानका राष्ट्रपति अलियेफले आफू अझै एक वर्ष कोपको अध्यक्ष रहने सन्दर्भमा जलवायु परिवर्तनसम्बन्धी मुद्धामा नजिक रहेर काम गर्ने बताएका थिए । उनले नेपालले प्रस्ताव गर्ने क्षेत्रमा लगानी गर्न सकारात्मक रहेको बताए ।


