काठमाडौं । सभामुख देवराज घिमिरेले बेवारिसे भई हुर्किएका बालबालिकाहरूलाई नागरिकता प्रदान गर्नेकुरा समस्याको रूपमा रहेको बताएका छन् ।
शुक्रवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले बेवारिसे बालबालिकाहरूलाई नागरिकता प्रदान गर्नेकुरा संसद्मा पनि छलफलको विषय बनेको बताएका हुन् ।
उनले यसबारेमा गृह मन्त्रालयले अनाथालयमा हुर्किरहेका र अनाथालयले जिम्मेवारी लिएका तर नागरिकतासम्बन्धी कानुनले व्यवस्था गरेको हिसाबबाट नसमेटिएकालाई कसरी नागरिकता दिने भन्नेबारेमा कार्यदल नै बनाइ काम गरिरहेको बताए ।
उनले भने,"वास्तवमा नागरिकताको समस्या, बेवारिसे रहेर हुर्किएका, बढेका बालबालिकाहरूको नागरिकता कसरी दिने भन्नेकुरा गम्भीर समस्याको रूपमा आएको छ । यसबारेमा संसद्मा बहसको विषय बनेको छ । छलफलको विषय बनेको छ । यो सँगसँगै गृह मन्त्रालयले अनाथालयमा हुर्किरहेका, अनाथालयले गार्जेनसिप लिएका तर हाम्रो नागरिकतासम्बन्धी कानुनले व्यवस्था गरेको हिसाबबाट नसमेटिएकालाई कसरी नागरिकता दिनुपर्छ, भन्नेबारेमा कार्यदल बनाएर काम भइरहेको छ ।"
उनले कार्यदलले प्रतिवेदन दिइसकेपछि सरकारले चाँडै कानुन बनाउने र संसद्मा बहस हुने अपेक्षा गरे । यौनिक, अल्पसंख्यक रूपमा रहेका समुदायहरूलाई मानवको रूपमा व्यवहार नगर्ने खालको परिपाटी रहेको भन्दै यसको बारेमा राजनीतिक क्षेत्रबाट मूलतः अभियानहरूबाट कार्यक्रम लैजाने र उनीहरूको अवस्था, चिन्तन, चेतनालाई विकास गर्ने काममा लाग्नुपर्ने बताए ।
.jpg)


