काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मृत्युपश्चात् मानव अंगदान गर्न चाहने परिवारलाई दुई लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेका छन् । मानव अंगदान गर्न चाहने त्यस्ता परिवारलाई यसअघि एक लाख रुपैयाँ दिने गरिएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दाताका परिवारलाई एक लाख थप गर्ने निर्णय मन्त्री पौडेलले गरेका हुन् ।
मन्त्री पौडेलको निर्णय कार्यान्वयनमा अर्थ मन्त्रालयले आन्तरिक स्रोतबाट व्यवस्थापन गर्ने गरी सहमति दिएको छ । मन्त्रालयको आन्तरिक स्रोतबाटै आवश्यक रकम व्यवस्थापन गर्ने गरी निर्णय गरिएको मन्त्री पौडेलले बताए ।
मन्त्री पौडेलले भने, “आफ्नो मृत्युपछि अरूको जीवन बचाउन चाहनेलाई प्रोत्साहन गर्न खोजेका हौँ,” “एउटाको जीवनपछि अरूको जीवन बचाउने कार्यमा यस निर्णयले व्यापकता पाउने आशा गरेका छौँ ।”
मन्त्री पौडेल स्वयंले यसअघि नै अंगदान गर्ने घोषणा गरिसकेका छन् । अंगदानमा सघाउने अस्पताललाई यसअघि दिने गरिएको ५० हजारमा मन्त्रालयले २५ हजार थप गरेर ७५ हजार रुपैयाँ पुर्याएको छ ।


