काठमाडौं । शेर्पा समुदायको जीवनशैली तथा संस्कृतिमा निर्माण भएको चलचित्र ‘कार्साङ’को टिजर सार्वजनिक गरिएको छ ।
बुधबार सार्वजनिक गरिएको टिजरमा गरिबी, अभाव, निसन्तानपनले दिएको शास्ती र त्यसले दाम्पत्य जीवनमा सृजना गर्ने श्रीमान् श्रीमतीबीचको विवादलाई देखाईएको छ । गरिबीका कारण कसरी आम मान्छे आफ्नै दाजुभाइ र समाजबाट हेपिन्छन् भन्ने कुरा पनि यो चलचित्रको टिजरमा उल्लेख छ
यम शेर्पाले चलचित्र कार्साङ निर्देशन गरेका हुन् भने चलचित्रको कथा पनि शेर्पाले लेखेका छन् । यो चलचित्रलाई आगामी पुष २६ मा रिलिज गरिने तयारीमा छ ।
चलचित्रमा दयाहाङ राईसँगै सिर्जना निङलेखु, जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन, सुरवीर पण्डित, कविता आले, कर्मा शेर्पा, छोकी शेर्पा, सभ्य दीप गौतम, बिमल पुरी, दिलीप पन्त, छिरिङ शेर्पा, पवन कुमार गोले, अमृत शेर्पालगायत कलाकारको अभिनय रहेको छ । यसमा बाल कलाकारमा राशी लिम्बु, सोहन थापा रहेका छन् ।
यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा निर्माण भएको चलचित्रका छायाँकार पुरुषोत्तम प्रधान आफैं निर्माता पनि हुन् ।


