काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सन्तोष परियारले राजनीतिक पार्टीसँग विश्वास टुटिसकेको बताएका छन्।
सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सरकारले कानुनको पालना नगरेको र राजनीतिक दलमाथि आफ्नो विश्वास टुटिसकेको बताएका हुन्।
उनले लामो राजनीतिक यात्रा भएका पार्टीहरूले पनि हरेक वर्ष हुने दलितहरूको हत्या र हिंसाको विरोधमा कानुन बनाएर दलितका समस्या सम्बोधन नगरेको भन्दै सरकारमाथि खेद प्रकट गरे ।
उनले भने, ‘राजनीतिक पार्टीसँग विश्वास टुटिसक्यो। यो राज्य संविधान मान्दैन। राज्यले अन्याय गर्छ। यो सदनमा हरेक वर्ष दलितमाथि हुने जातीय विभेदको विरुद्ध सरकारलाई ठोस कानुन बनाएर अघि बढ्न म आग्रह गर्छु,’ उनले थपे,’हरेक वर्ष दलितले विवाह गरेबापत मारिनुपर्ने ? प्रेम गरेका कारण दलितहरू उठिबास लाग्नुपर्ने ?’


