काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले नेपाल बिद्युत प्राधिकरणले मन्त्रालय तथा मातहतका निकायसँग समन्वय नगरेका कारण बबरमहल क्षेत्रमा खानेपानीको पाइप फुटेर क्षति भएको बताएका छन् ।
बुधबार दिउँसो बिद्युत प्राधिकरणले बिद्युतका तारहरु अण्डर ग्राउण्ड गर्नका लागि होरीजोन्टल ड्रिलिङ गर्ने क्रममा बबरमहलमा रहेको खानेपानीको थोक बितरण प्रणालीको पाइप फुटेपछि पानी जमेर जलमग्न भएको मन्त्री यादवले बताएका हुन् ।
सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री यादवले विद्युत प्राधिकरणले समन्वय नगरेका कारण पाइप फुटेर क्षति हुन पुगेको बताए ।
उनले भने, ‘विद्युत प्राधिकरणले सधै हामीसँग समन्वय गर्दै आएका थियो । आज समन्वय नगरेका कारण पाइप फुटेर क्षति हुन पुग्यो ।’ ‘बिद्युत प्राधिरणले कहाँ कहाँ खानेपानीका पाइप बिच्छाइएको छ । त्यो विषयमा जानकारी लिन आवश्यक छ । हामीलाई सोधे हामी पाइप भएको क्षेत्र देखाउने छौँ ।’
मन्त्री यादवले पानी बन्द हुनासाथ फुटेको पाइपलाईन तत्काल मर्मत गर्नका लागि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का प्रमुखलाई निर्देशन दिइसकेको बताए ।
पाइप फुटेर पानी पसेपछि बबरमहल स्थित विशेष अदालत लगायतका सरकारी भवनहरू जलमग्न बनेको छ । मन्त्री यादव, मन्त्रालयका सचिव ई प्रमिलादेबि शाक्य बज्राचार्य, केयूकेएलका सिइओ अशोककुमार पौडेल, पिआइडिका प्रमुख टिकाबहादुर चौधरी सहित मन्त्रालयको टोलि पानी निकास र रोकथामका लागि बबरमहल पुगेको थियो ।
.jpg)


