काठमाडौं । महाशिवरात्रिको पुर्वसन्ध्यामा पशुपति क्षेत्र विकास कोषले सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
सोमबार कोषले पत्रकार सम्मेलन गर्दै यहि फाल्गुण १४ गते बुधबार परेको महाशिवरात्रिको तयारी सम्पन्न भएको जानकारी गराएको हो । यस वर्षको महाशिवरात्रि पर्वलाई व्यवस्थापनका लागि पशुपति क्षेत्र विकास कोष, सञ्चालक परिषद्का अध्यक्ष संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेको अध्यक्षतामा ‘महाशिवरात्रि पर्व व्यवस्था मूल समारोह समिति–२०८१’ गठन भई सो मूलसमिति अन्तर्गत १० वटा विभिन्न विषयगत उप–समितिहरुको गठन गरी कार्य प्रारम्भ भइसकेको छ ।
महाशिवरात्रि पर्वमा लाखौंको सँख्यामा आउने दर्शनार्थी, साधुसन्त एवं भक्तजनहरुको प्रवाहलाई मध्यनजर राखी नेपाल सरकारबाट निर्धारित सुरक्षा तथा स्वास्थ्यका मापदण्डहरुलाई पालना गर्दै समग्र रुपमा दर्शनको व्यवस्थालाई थप प्रभावकारी बनाउन पशुपति क्षेत्र विकास कोषले उप–समितिहरुको गठन गरेको पनि जानकारी गराएको छ ।
यसको साथै, पाशुपत क्षेत्र परिसरमा माछा, मासु, मदिरा, गाँजा, भाङ, चरेश आदिको भण्डारण–विक्री वितरण तथा ओसार पसार नगर्न/नगराउन सचेत गरिएको छ ।
स्थानीय बासिन्दाहरुका लागि स्थानीय वडा कार्यालयहरुमार्फत जारी गरिएको परिचय पत्र (पास)तथा कोषबाट जारी परिचय पासलाई आफ्नो घर÷आवास आवत जावतका लागि मात्र प्रयोग गर्ने व्यवस्था मिलाइएको छ ।
सुरक्षा व्यवस्था–नेपाली सेना, नेपाल प्रहरी, ट्राफिक प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभाग र कोषको सुरक्षा संयन्त्र समेतबाट सुरक्षा जनशक्ति परिचालन गरी महाशिवरात्रि पर्वलाई व्यवस्थित गरिने कोषले जनाएको छ ।
भकुण्डोलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको कमाण्ड पोष्ट रहनेछ । यस कमाण्ड पोष्टसँगै खोजखबर कक्षको पनि व्यवस्थापन गरिनेछ । निर्धारित दर्शनमार्गहरुलाई लक्षित गरी सिसि क्यामेरा जडान गरिएका छन् । गोरखनाथ, कैलाश, वनकाली लगायत अन्य आवश्यक स्थलहरुमा सव–कमाण्ड पोष्टहरु खडा गरी संयुक्त सुरक्षा व्यवस्था मिलाईनेछ । ट्राफिक प्रहरी महाशाखाको सहयोगमा निश्चित स्थानमा सम्पदा मैत्री पार्किङ्ग स्थलहरुको व्यवस्था गरिएको छ ।
.jpg)


