काडमाडौं । नेपाल टेलिकमले नेपाली चलचित्र उद्योगकी ख्यातिप्राप्त नायिका स्वस्तिमा खड्कालाई “ब्रान्ड एम्बेसडर” मा नियुक्त गरेको छ ।
सोमबार टेलिकमको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा सो सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल)का साथै कलाकार स्वस्तिमा खड्काले हस्ताक्षर गरेका हुन् ।
सो अवसरमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक अर्यालले नेपाली चलचित्र क्षेत्रको ख्यातिप्राप्त कलाकारसँगको सहकार्यले कम्पनीका सेवाहरुको प्रबर्धन एवम् बजारीकरण कार्यमा सहयोग पुग्ने बिश्वास व्यक्त गर्दै कम्पनीसँग आवद्धता तथा सहकार्यका लागि अभिनेत्री खड्काप्रति आभार प्रकट गरिन् ।
कार्यक्रममा ब्रान्ड एम्बेसडर स्वस्तिमा खड्काले नेपाल टेलिकम जस्तो गरिमामय एवम् सुपरिचित संस्थासँग आवद्ध हुन पाउँदा खुशी व्यक्त गरिन् । उनले ब्रान्ड एम्बेसडरको रुपमा कम्पनीको हित अभिवृद्धि हुने गरी कार्य गर्ने प्रतिवद्धता समेत व्यक्त गरिन् ।
नेपालको कलाकारिता क्षेत्रमा सफल तथा लोकप्रिय अभिनेत्रीको पहिचान बनाउन सफल ब्रान्ड एम्बेसडरको संलग्नताबाट ग्राहकवर्गलाई कम्पनीका सेवासुविधा सम्बन्धमा सहज रुपले जानकारी प्रदान गर्न सकिने र आफ्ना सेवाहरुको प्रवर्द्धन मार्फत सशक्त रुपमा जनता समक्ष सेवा विस्तार गर्ने कार्यमा समेत सहयोग मिल्ने अपेक्षा कमपनीले गरेको छ ।


