काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले जातीय भेदभावको पूर्ण निर्मुलका लागि कानुनी संरचनालाई बलियो बनाउनुपर्ने बताएका छन् ।
बुधबार जातीय भेदभाव तथा छुवाछूत उन्मुलन राष्ट्रिय दिवस २०८२ को अवसरमा आयोजित दलित समुदायको हक, अधिकारको विषयमा भएको अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
सामाजिक चेतनाको विकास, नीति निर्माणमा दलित समुदायको प्रभावकारी सहभागिता अपरिहार्य गराउन आवश्यक रहेको बताउँदै उनले भने,‘जातीय भेदभावको पूर्ण निर्मुलका लागि कानुनी संरचनाको बलियो कार्यान्वयन, सामाजिक चेतनाको विकास, नीति निर्माणमा दलित समुदायको प्रभावकारी सहभागिता अपरिहार्य गराउन आवश्यक छ ।’
संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि दलित समुदायप्रति राज्यको व्यवहारमा केही सकारात्मक परिवर्तन देखिए पनि अझैं मानसिकतामा रुपान्तरण हुन जरुरी भएको उनले बताए ।
दलित समुदायलाई आत्मसम्मानका साथ बाँच्न सक्ने वातावरण सुनिश्चित गर्नु सबैको सामाजिक उत्तरदायित्व भएकाले स्थानिय तहदेखि संघसम्मका राज्यका निकायहरुले दलितका लागि नीति निर्माण गर्न तर्फ लाग्नु पर्नेमा उनले जोड दिए ।


