काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली औपचारिक भ्रमणका लागि युरोपेली मुलुक स्पेन प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओली केहि बेर अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्पेनका लागि प्रस्थान गरेका हुन् ।
स्पेनको औपचारिक भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले असार १६ देखि १९ गतेसम्म आयोजना हुने ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा भाग लिने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले स्पेनमा आफ्ना समकक्षी पेड्रो सान्चेजसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । त्यस अवसरमा सहयोग र सम्बन्ध विस्तारसम्बन्धी केही महत्त्वपूर्ण विषयमा नेपाल र स्पेनबीच सहमतिपत्रमा हस्ताक्षर हुनेछ ।
प्रधानमन्त्री ओलीसँगै उनकी धर्मपत्नी राधिका शाक्य, प्रमुख सल्लाहकार विष्णु रिमालसहित २१ सदस्यीय प्रतिनिधिमण्डल स्पेन प्रस्थान गरेको छ ।


