कात्तिक २ काठमाडौं । तीन बुँदे सहमति कार्यान्वयनबारे सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बीच सकारात्मक छलफल भएको छ । मंगलबार गृह मन्त्रालयमा तत्कालीन ओली सरकार र विप्लव समूहबीच कार्यान्वयन गर्न बनाइएको तीनबुँदे सहमति कार्यान्वयनबारे सकारात्मक छलफल भएको हो ।
छलफलमा गृहमन्त्री बालकृष्ण खाण, महान्यायाधिवक्ता खम्मबहादुर खाती, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटा र नेकपाका पार्टी प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लगायत सहभागी थिए।
ओली सरकारले विप्लव समूहलाई शान्ति सम्झौता ल्याउँदा विप्लव समूहका नेता कार्यकर्तामाथि लगाइएका सबै अभियोग फिर्ता र रिहाइ गर्ने सम्झौता गरेको थियो । त्यस विषयमा दुवै पक्षबाट विगतमा पेस भएको सूचीमा पछिल्लो समयसम्म भएको प्रगतिलाई मध्यनजर गर्दै अन्तिमपटक त्यसबारे सूची तयार गर्ने सहमति भएको छ ।
अन्तिम सूची तयार भए पछि मुद्दाहरुलाई किनारा लगाउनेबारे बैठकमा छलफल गरिने बताइएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार र विप्लव समूहबीच २० फागुन २०७७ मा तीनबुँदे सहमति गरेको थियो ।
.jpg)


