बुधबार, भाद्र २४ गते २०८३
images

अख्तियार पुग्यो राप्रपा, भ्रष्टाचार सम्बन्धी सबै फाइल खोल्न माग

एक्सप्रेस पाना
श्रावण २, २०८२ शुक्रबार
  • 430
    SHARES
  • अख्तियार पुग्यो राप्रपा, भ्रष्टाचार सम्बन्धी सबै फाइल खोल्न माग

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ज्ञापनपत्र बुझाएको छ । 

    images

    शुक्रबार अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा भ्रष्टाचारका सबै काण्डहरुको अध्ययन, अनुसन्धान र कारबाहीको प्रक्रिया तदारुकताका साथ अघि बढाउने माग राख्दै भ्रष्टाचार विरुद्ध प्रदर्शनसहित ज्ञापनपत्र बुझाएका हुन् । 

    अध्यक्ष लिङ्देनले आयोगमा अहिले भइरहेको ठूला–ठूला भ्रष्टाचारका काण्डहरुको जुन तदारुकताकासाथ छानबनि हुनुपर्ने हो त्यो नभएको भन्दै राजनीतिक क्षेत्रलाई छानविन गरी कारबाहीको दायरामा ल्याउन अख्तियारलाई ध्यानाकर्षण गराएको बताए । 

    images

    उनले भने,‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अहिले भइरहेको ठूल–ठूला भ्रष्टाचारका काण्डहरुको जुन तदारुकताकासाथ छानबनि हुनुपर्ने हो, भएको छैन् । र राजनीतिक क्षेत्रलाई जसरी छानविन गरी कारबाहीको दायरामा ल्याउनुपर्ने हो । त्यो नल्याइएको विषयमा हामी अख्तियारको ध्यानाकर्षण गराउन आएका हौं ।’

    सरकारका मन्त्रीहरूको भ्रष्टाचारमा संलग्नताका तथ्यहरू एकपछि अर्को सार्वजनिक भइरहेको अवस्थामा मन्त्रीहरू एक अर्कामा कसले छिटो र धेरै कमाउने प्रतिस्पर्धा चलाइरहेको राप्रपाको ठहर छ । 

    भ्रष्टाचारका विषयमा छानबिन र मुद्दा दर्ताका कामहरू प्रशस्त हुँदैगर्दा पनि ठुला भ्रष्टाचारका काण्डहरू जस्तै सुडान घोटाला, ललिता निवास, वाइडबडी, क्यान्टोन्मेण्ट, ओम्नी, एनसेल लगायतका ठूल्ठूला भ्रष्टाचार काण्डहरूमा राजनीतिक नेतृत्व छानबिनको दायरा बाहिर पर्नुले आयोगको निष्पक्षता तथा प्रभावकारितामा गम्भीर प्रश्नहरू उठेको ज्ञापन पत्रमा उल्लेख छ ।

    राजनीतिक नेतृत्वको संरक्षण र संलग्नता बिना यस प्रकारका ठुला भ्रष्टाचारहरू कर्मचारी संयन्त्रबाट मात्र हुनसक्छन भन्ने कुरामा विश्वास गर्न नसकिने र  भ्रष्टाचारको मुख्य जरो र छाता राजनीतिक क्षेत्रलाई छानबिन र कारबाहीको दायरामा नल्याएसम्म सानातिना कारबाहीले मात्र सेवा प्रवाह, सुशासन र भ्रष्टाचारमा सुधार हुन नसक्ने राप्रपाको भनाइ छ । 

     

  • सम्बन्धित विषय:

  • # अख्तियार दुरुपयोग अनुसन्धान आयोग