सोमबार, कार्तिक १७ गते २०८३
images
images

नेतृत्वको कमजोरीमाथि सुमना श्रेष्ठको प्रहार

एक्सप्रेस पाना
भाद्र २९, २०८२ आइतबार
  • 453
    SHARES
  • नेतृत्वको कमजोरीमाथि सुमना श्रेष्ठको प्रहार

    काठमाडौं । पूर्व शिक्षा मन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय नेतृ सुमना श्रेष्ठले पार्टी परित्याग गरेकी छन्। यो निर्णय केवल एक राजनीतिक पदत्याग नभई, नेतृत्वशैली, सिद्धान्त र मूल्यको पक्षमा गरिएको राजनीतिक वक्तव्य हो। उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक रूपमा घोषणा गर्दै आफ्नो राजीनामा पार्टीभित्रको असन्तुष्टि, नेतावादको प्रवृत्ति, र जवाफदेहिताको अभावविरुद्ध भएको स्पष्ट पारेकी छन्। श्रेष्ठको भनाइमा, पार्टीभित्र बारम्बार गल्तीहरू दोहोरिइरहेका छन्, तर नेतृत्वले ती गल्तीहरूको जिम्मेवारी लिनु त परै जाओस्, त्यसलाई स्वीकार गर्न समेत तयार छैन।

    images

    उल्टै ती गल्तीहरूको बोझ अन्य सदस्यहरूलाई बोक्न बाध्य बनाइन्छ। उनले भनेकी छन् “देशभन्दा माथि पार्टी, र पार्टीभन्दा माथि नेता” लाई राख्न थालेपछि निरन्तर आन्तरिक रूपमा आवाज उठाए तर त्यसको कुनै प्रभाव परेन। बरु आलोचना गर्नेमाथि “मिडिया ट्रायल” गरियो । 

    यस्तो अपारदर्शी र नेतामूखी प्रवृत्तिको विरोध गर्दै सुमनाले पार्टीभित्र रहेर भन्दा बाहिरबाट खुला रूपमा आवाज उठाउनु उपयुक्त हुने उल्लेख गरेकी छन् । त्यसैले उनले पार्टी परित्याग गरेको बताएकी छन् उनले स्पष्ट रूपमा उल्लेख गरेकी छन् कि यो राजीनामा न त पद–लोभका कारण हो, न त कुनै व्यक्तिगत द्वन्द्वका कारण। यो त मूल्य, सिद्धान्त र नयाँ पुस्ताको सम्भावनाको पक्षमा लिएको निर्णय हो। 

    images

    यसै सन्दर्भमा सुमनाले पुराना परम्परागत दलहरू कांग्रेस र एमालेका तेस्रो पुस्ताका नेताहरूतर्फ औंला तेस्र्याउँदै, उनीहरूको नेतृत्वशैली नै आजको राजनीतिक संकटको मूल जरो भएको बताएकी छन्। उनले आग्रह गरेकी छन्,’अब नेताहरूको अन्धभक्तिमा रमाउने होइन, या त खराब नेतृत्व हटाउनुहोस्, वा स्वयं हट्नुहोस्।‘ 

    उनले यसअघि पनि रास्वपाको सह–महामन्त्री पदबाट “एक व्यक्ति, एक पद” को सिद्धान्तमा अडिग रहँदै राजीनामा दिएकी थिइन्। उनको हालको निर्णयपछि कतिपयले उनलाई “अवसरवादी” भन्दै टिप्पणी समेत गरेका छन्। तर, यी आरोपको प्रतिवाद गर्दै श्रेष्ठले आइतबार दिउँसो फेरि फेसबुक लाइभमार्फत आफुले पदका लागि नभइ, परिवर्तनको अभियानका लागि पार्टी छोडेको स्पष्ट पारेकी छन् । उनले आफूले पार्टीभित्र रहँदा जुन कार्य र मूल्यका लागि लड्न सकिएन अब पार्टीबाहिर आएर त्यसैको लागि अझ प्रष्ट र निर्बाध रूपमा काम गर्ने बताएकी छन् । विशेषतः उनी जेन जी पुस्ता नयाँ सोच बोकेका युवाहरूको पक्षमा अडिग रहने प्रतिबद्धता व्यक्त गरेकी छन् ।
     

    उनले भनेकी छन्, “परिवर्तनको एजेन्डा बोकेका जेनजी युवापुस्तालाई बदनाम गर्ने प्रयास हुँदैछ, त्यो रोक्न सबैले सघाउनुपर्छ।” उनी राजनीतिक विकल्पको खोजीमा रहेका युवाहरूका लागि एउटा स्पष्ट सन्देश दिन चाहन्छिन् — “सत्ता र सञ्जालभन्दा माथि मूल्य र विचार हुनुपर्छ।” सुमना श्रेष्ठको रास्वपा त्याग केवल संगठन परिवर्तन होइन, एक स्पष्ट राजनीतिक सन्देश हो। यो सन्देशले नयाँ पुस्ताको आवाज, विचार र मूल्यलाई समेट्ने राजनीतिका लागि मार्ग खोल्ने अपेक्षा गरिएको छ। उनले भनेकी छन्,“पार्टी छोडे तर परिवर्तनको एजेन्डा छोडिनँ।“ यो भनाइ नै उनको सम्पूर्ण निर्णयको मूल सार हो।

     

  • सम्बन्धित विषय:

  • # muna dawadi