बुधबार, भाद्र २४ गते २०८३
images

प्रधानमन्त्री कार्कीले गरिन् जेनजी आन्दोलनका घाइतेहरूसँग छलफल

एक्सप्रेस पाना
कार्तिक ४, २०८२ मंगलबार
  • 307
    SHARES
  • प्रधानमन्त्री कार्कीले गरिन् जेनजी आन्दोलनका घाइतेहरूसँग छलफल

    काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका घाइतेहरूसँग बालुवाटारमा ४ घण्टाभन्दा बढी समय छलफल गरेकी छन् । 

    images

    घाइतेहरूले सरकारलाई भ्रष्टाचारी र दमनकारीविरुद्ध कठोर ढंगले प्रस्तुत हुन सुझाव दिएका छन् । भ्रष्टाचारीमाथि कारबाही नभए सडकमा उत्रिएर अर्को आन्दोलन गर्ने चेतावनी पनि दिएका छन् ।

    घाइते रुपिन खड्काको नेतृत्वमा आएको १८ जनाको समूहले क्रान्तिबाट आएको सरकारले क्रान्तिकारी कदम चाल्नुपर्ने बताए ।

    images

    घाइतेहरूका तर्फबाट खड्काले भने, ‘जसका विरुद्ध हामीले आन्दोलन गरेका थियौँ, तिनीहरूलाई तत्काल पक्राउ गर्न केले छेकेको छ? नियमले छेक्यो कि कानुन र संविधानले छेक्यो कि ? जहाँ बाधा छ, त्यहीँबाट फुकाउनु सुरु गरौँ ।’

    गृहमन्त्री ओमप्रकाश अर्यालले भ्रष्टाचार र आन्दोलनमा भएको दमनबारे छानबिनमा भएको प्रगतिबारे अवगत गराए ।  
    ‘तपाईँ चुनाव चुनाव मात्र भनिरहनुभएको छ । के ०८४ को चुनाव ०८२ मा सार्न मात्र यो सरकार आएको हो?’ घाइते प्रतिनिधिहरूको भनाइ थियो ।
    छलफलमा प्रधानमन्त्री कार्की, गृहमन्त्री अर्याल, ऊर्जामन्त्री कुलमान घिसिङ, शिक्षामन्त्री महावीर पुन, सञ्चारमन्त्री जगदीश खरेलको पनि सहभागिता थियो ।

    प्रधानमन्त्री कार्कीले भनिन्, ‘हामी जेनजी आन्दोलनको मर्मभन्दा बाहिर जाँदैनौँ । प्रक्रियासम्मत ढंगले कानुनी रुपमा तल नपर्ने गरी हामी काम गर्छौँ । हामीलाई दिइएको म्यान्डेटअनुसार चल्छौँ । चुनाव पनि हुन्छ, भ्रष्टाचारको अनुसन्धान पनि हुन्छ। राज्यका स्थापित निकायले तीव्र गतिका साथ भ्रष्टाचारको छानबिन गरिरहेका छन् । आआफ्नो ठाउँबाट काम भइरहेको छ । तपाईँहरु बोल्न नछाड्नुहोस्। हामीलाई दबाब दिन पनि नछाड्नुहोस्। हेर्नुहोला, अब नतिजा आउँछ । छानबिनमा परेपछि बाहिर कसले केके बोलिरहेका छन्, सुन्नुभएकै होला ।’

    घाइतेहरूले कतिपय आरोपित व्यक्ति भाग्न खोजेको र अकुत सम्पत्ति लुकाउन लागेको भन्दै चिन्ता व्यक्त गरेका थिए ।
    गृहमन्त्री अर्यालले भाग्न खोजेकाहरू, लुकेकाहरू पनि भाग्न नसक्ने अवस्था आएपछि ‘नेपालमै छु’ भनेर देखापर्न थालेको बताए ।

  • सम्बन्धित विषय:

  • # जेनजी आन्दोलन