आइतबार, भाद्र २८ गते २०८३
images

जिल्ला अस्पताल मुगुमा दम तथा भाइरल रोगका बिरामीको चाप बढ्दै

एक्सप्रेस पाना
मंसिर २९, २०८२ सोमबार
  • 154
    SHARES
  • जिल्ला अस्पताल मुगुमा दम तथा भाइरल रोगका बिरामीको चाप बढ्दै

    मुगु । अत्यधिक चिसो, लामो समयसम्म पानी नपर्नु तथा धुवाँ–धुलोका कारण हिमाली जिल्ला मुगुमा भाइरल रुघाखोकी, ज्वरो र दमका बिरामीको संख्या बढ्दै गएको छ। यसको प्रत्यक्ष असर सदरमुकाम गमगढी नजिकै रहेको १५ शैयाको जिल्ला अस्पताल ठिनिमामा देखिएको छ । जहाँ पछिल्लो समय बिरामीको चाप अत्यधिक बढेको छ।

    images

    मंसिर महिनादेखि चिसो बढ्दै जानुका साथै चिसो हावा र धुलोका कारण जिल्लाका विभिन्न गाउँबस्तीमा भाइरल रुघाखोकी, ज्वरो तथा दमका बिरामी घर–घरमै देखिन थालेका छन्। जिल्ला अस्पताल ठिनिमामा दैनिक ६० देखि ७० जना बिरामी उपचारका लागि आउने गरेका छन्, जसमध्ये १० देखि २० जना दमका बिरामी रहने गरेका छन्।

    जिल्ला अस्पताल मुगुका विशेषज्ञ चिकित्सक डा। अभिषेक मिश्रका अनुसार उपचारका लागि आउने बिरामीमध्ये पाँच वर्षमुनिका बालबालिका, महिला तथा वृद्धवृद्धाको संख्या बढी रहेको छ। आर्थिक अभावका कारण धेरैजसो बिरामी रोग गम्भीर भएपछि मात्र अस्पताल पुग्ने गरेको उनले बताए।

    images

    डा. मिश्रले जिल्ला अस्पतालबाट सम्भव सबै उपचार सेवा प्रदान गरिएको जानकारी दिँदै भाइरल रोगबाट बच्न बालबालिकालाई चिसो, धुवाँ र धुलोबाट जोगाउनुपर्नेमा जोड दिए। साथै, वृद्धवृद्धामा दमको समस्या बढी देखिने भएकाले घरमै अक्सिजनको व्यवस्था भए उपचारमा सहज हुने उनको भनाइ छ।

    सदरमुकाम गमगढी आसपासका बस्तीहरूमा भाइरल ज्वरो, रुघाखोकी र दमका कारण छाती, पेट, हातखुट्टा तथा शरीरका विभिन्न भाग दुख्ने, झमझमाउने, टाउको दुख्ने, सिँगान बग्ने, हाछ्युँ बढी आउने तथा खान मन नलाग्ने जस्ता समस्या देखिएको स्थानीयवासीहरूले बताएका छन्।

    यसैबीच, बिरामी मणिचन्द्र कार्कीले हाल गाउँका अधिकांश घरमा बिरामी देखिएको उल्लेख गर्दै राजनीतिक भेटघाटभन्दा पनि औषधिसहित चिकित्सक टोली गाउँगाउँमै पुगेर उपचारको व्यवस्था गर्न सरकार तथा सरोकारवाला निकायलाई आग्रह गरेका छन्।

    मुगु जिल्लामा फैलिएको सिजनल भाइरल रोगको प्रभावकारी उपचार तथा नियन्त्रणका लागि गाउँस्तरमै स्वास्थ्य शिविर सञ्चालन, औषधि आपूर्ति तथा चिकित्सक परिचालन गर्न संघ, प्रदेश र स्थानीय सरकारले तत्काल ध्यान दिनुपर्ने देखिएको छ।

  • सम्बन्धित विषय:

  • # रुघाखोकी