काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई अमेरिकाले कब्जा गरेको दाबी गरेका छन्।
ट्रम्पले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै भेनेजुएलामा अमेरिकाले ठूलो मात्रामा सैन्य आक्रमण गरेको र सोही क्रममा राष्ट्रपति मादुरो तथा उनकी श्रीमतीलाई नियन्त्रणमा लिइएको बताएका हुन्। उनका अनुसार मादुरो दम्पतीलाई देशबाहिर लगिएको छ।
यसैबीच भेनेजुएलाको राजधानी काराकाससहित विभिन्न स्थानमा विस्फोटका आवाज सुनिएको र सैन्य गतिविधि बढेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। आक्रमणपछि भेनेजुएलामा तनावपूर्ण अवस्था सिर्जना भएको छ।
तर, भेनेजुएलाको सरकार पक्षले भने ट्रम्पको दाबीलाई अस्वीकार गर्दै यसलाई देशको सार्वभौमिकतामाथिको गम्भीर हस्तक्षेप भनेको छ। घटनाबारे आधिकारिक पुष्टि तथा विस्तृत विवरण आउन बाँकी छ।
अमेरिका र भेनेजुएलाबीच लामो समयदेखि राजनीतिक तनाव रहँदै आएको छ। पछिल्लो घटनाले दुवै देशबीचको सम्बन्ध अझ चर्किने संकेत देखिएको छ।


