काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को १८औँ वार्षिक साधारणसभा बुधबार राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, काठमाडौंमा सम्पन्न भएको छ। साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को मुनाफामध्येबाट प्रतिशेयर ३० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ।
साधारणसभामा करिब ९१.५६ प्रतिशत शेयरको प्रतिनिधित्व गर्ने शेयरधनीहरूको उपस्थिति रहेको थियो। सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ असार मसान्तको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य अनुसूचीहरूमाथि छलफल गरी सर्वसम्मतले पारित गरेको छ।
सभामा कम्पनी सञ्चालक समितिका अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले शेयरधनीहरूलाई स्वागत गर्दै १८औँ वार्षिक प्रतिवेदन प्रस्तुत गरिन्। प्रतिवेदन प्रस्तुत गर्दै उनले तीव्र प्रतिस्पर्धात्मक वातावरणका बाबजुद मुनाफाभन्दा सेवाभावलाई प्राथमिकतामा राख्दै विकट तथा दुर्गम क्षेत्रमा सेवा विस्तार गरिएको बताइन्।
डिजिटल नेपाल निर्माणको सरकारी अवधारणालाई सहयोग गर्ने, विद्युतीय सुशासनमा भूमिका बढाउने तथा अप्टिकल फाइबरमार्फत सूचना महामार्ग निर्माण गरी डिजिटल डिभाइड कम गर्ने लक्ष्यका साथ कम्पनी अघि बढिरहेको उनको भनाइ थियो।
अध्यक्ष अर्यालले भावी दिनमा मेघा परियोजना सञ्चालन गर्नुपर्ने र थप पुँजी आवश्यक परेमा बोनस सेयरसमेत उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गरिन। उनका अनुसार कम्पनीले आन्तरिक तथा बाह्य प्रतिकूल अवस्थाबीच आर्थिक वर्ष २०८१/८२ मा कुल ३८ अर्ब १९ करोड रुपैयाँ आम्दानी गर्दै करिब ६ अर्ब रुपैयाँ नाफा आर्जन गरेको छ। सोही अवधिमा कम्पनीले कर तथा शुल्कबापत १८ अर्ब ४६ करोड रुपैयाँ नेपाल सरकारलाई राजस्वका रूपमा बुझाएको जानकारी पनि दिइन्।
जोखिम न्यूनीकरणका लागि आय सुनिश्चितता परीक्षण, कार्यसम्पादन परीक्षण तथा प्राविधिक परीक्षणलाई प्राथमिकताका साथ निरन्तरता दिइएको अध्यक्ष अर्यालले बताइन्। साथै कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वातावरण संरक्षण, स्वास्थ्य, शिक्षा तथा खेलकुदलगायत क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको उल्लेख गरिन्।
उनले निकट भविष्यमा राजधानीसहित ठूला सहरहरूमा ‘ 5G ’ सेवा सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिइन्। हालसम्म २०८२ असोज मसान्तसम्म सातै प्रदेशका ७७ जिल्लाका ७४९ स्थानीय तहमा अत्याधुनिक दूरसञ्चार सेवा विस्तार भइसकेको छ। त्यस्तै, देशका सबै ७७ जिल्लामा उच्च गतिको डाटा सेवा विस्तार भइसकेको कम्पनीले जनाएको छ।
समीक्षा अवधिमा 2G तर्फ १४३ तथा 4G तर्फ १०९ वटा BTS थप गरिएको र हालसम्म 2G ४,५४२, 3G २,९९४ तथा 4G४,४३७ वटा BTS सञ्चालनमा रहेको जानकारी पनि सभामा दिइयो।
अति विकट तथा दुर्गम स्थानीय तहहरूमा सेवा विस्तारलाई निरन्तरता दिइएको उल्लेख गर्दै ग्रामीण दूरसञ्चार विकास कोषको सहयोगमा मध्यपहाडी लोकमार्ग तथा जिल्ला सदरमुकाम जोड्ने मार्गहरूमा अप्टिकल फाइबर नेटवर्क विस्तार गरिएको अध्यक्ष अर्यालले बताइन्। आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्ममा कुल ८,८३४ किलोमिटर अप्टिकल फाइबर नेटवर्क विस्तार भइसकेको छ।
प्रतिस्पर्धात्मक बजारमा कम्पनीलाई सक्षम बनाउने उद्देश्यले आन्तरिक कार्यवातावरण सुधार, निर्णय प्रक्रिया सरलिकरण तथा संस्थागत संरचना सुधारमा जोड दिइएको अध्यक्षको भनाइ थियो। भ्वाइस सेवाबाट हुने आम्दानी घट्दै गएको र ओटीटी सेवाले चुनौती थपेको सन्दर्भमा प्रविधिगत परिवर्तनअनुसार सेवामा तादात्म्यता ल्याउन कम्पनी प्रयासरत रहेको उनले बताइन् ।
डाटा सेवाप्रति बढ्दो आकर्षणलाई मध्यनजर गर्दै गुणस्तर सुधार, लागत न्यूनीकरण तथा रणनीतिक साझेदारीमार्फत बजार हिस्सा विस्तार गरिने पनि अध्यक्ष अर्यालले स्पष्ट पारिन्।
सभामा शेयरधनीहरूले उठाएका जिज्ञासा र सुझावहरू क्रमशः कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गर्दै अध्यक्ष अर्यालले कार्यक्रम समापन गरिन् ।
सभाबाट पारित भएबमोजिमको लाभांश रकम आजैदेखि एनएमबी बैंकमार्फत सर्वसाधारण शेयरधनीहरूलाई वितरण गरिने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ।


