काठमाडौं । निर्वाचन आयोगले गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिक मान्यता दिएको छ ।
आयोगको शुक्रबारको बैठकले थापा नेतृत्वको कार्य समितिलाई वैधानिकता दिने निर्णय गरेको हो । यससँगै नेपाली कांग्रेसले चुनाव चिह्न ‘रुख’ र चारतारे झण्डा प्रयोग गर्ने अधिकार पाएको छ ।
शेरबहादुर देउवा नेतृत्वको तत्कालीन संस्थापन पक्ष अब पार्टी र चुनाव चिह्नविहीन बनेको छ । उक्त पक्षलाई आयोगले दलको नाम र चुनाव चिह्न रोज्न समय दिनेछ ।
२७ देखि ३० पुससम्म काठमाडौंमा नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन भएको थियो । सो महाधिवेशनले गगनकुमार थापाको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेपछि त्यसको अद्यावधिक गराउन उनीहरूले बिहीबार आयोगलाई निवेदन दिएका थिए ।
लगत्तै १४औं महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति विशेष महाधिवेशन विधानविपरीत आयोजना गरिएको भन्दै आयोग पुगेको थियो ।
आयोगले शुक्रबार दुवै तर्फबाट प्राप्त कागजात, पार्टीको विधान तथा ऐन–कानुनको अध्ययनपछि थापा नेतृत्वको कांग्रेसलाई मान्यता दिएको छ ।


