काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक डिबेटमा सहभागी हुन आफू तयार रहेको बताएका छन्। उनले आगामी निर्वाचनमा प्रधानमन्त्री पदका उम्मेदवार बनेका सबै नेताहरूलाई एउटै मञ्चमा बहसमा आउन चुनौती दिएका छन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन्,"यसपालीको निर्वाचनमा देशमा ऐतिहासिक भूमिका खेलेका दल, यसअघिको चुनावमा खुलेको दल र भर्खरै खुलेका केही नयाँ दलहरु पनि प्रधानमन्त्रीको उम्मेदवार समेत तोकेर आएका छन्। देशको नेतृत्व गर्न खोज्ने दलहरुका एजेण्डा के छन्, देश निर्माणमा यसअघि के काम गरे, अब गर्ने कामको रोडम्याप, योजना र खाका के छ रु सार्वजनिक रूपमा उठेका यस्ता प्रश्नहरूमा आमने सामने बहसको माग अत्यन्त सकारात्मक छ। यस्तो पब्लिक डिबेटमा आमने सामने उभिएर यसअघि हामीले के के गर्यौं भन्ने तथ्य र अब कसरी काम गर्छौं भन्ने एजेण्डा प्रस्तुत गर्न म तयार छु।"
ओलीले सामाजिक सञ्जालमार्फत ‘फ्रेमिङ’ गरेर प्रचार सामग्री फैलाउने प्रवृत्तिले मतदातालाई भ्रममा पार्ने काम भइरहेको उल्लेख गर्दै पारदर्शी र तथ्यमा आधारित सार्वजनिक बहस आवश्यक रहेको बताएका छन्।
ओलीले विगतमा एमालेले सरकारमा रहँदा गरेका कामका तथ्य र आगामी दिनमा पार्टीले अघि सार्ने योजनाहरू सार्वजनिक मञ्चबाट प्रस्तुत गर्न आफू तयार रहेको स्पष्ट पारेका छन्। साथै, प्रधानमन्त्रीका उम्मेदवार बनेका सबै नेताहरूलाई एउटै मञ्चमा उभ्याएर प्रत्यक्ष प्रश्नोत्तर हुने सार्वजनिक डिबेट आयोजना गर्न सम्बन्धित पक्षलाई आग्रह गरेका छन्।


