आइतबार, कार्तिक १६ गते २०८३
images
images

ओखलढुङ्गाको चुनावी राजनीति उल्टिँदै,अम्बिरबाबु गुरुङ केन्द्रमा

एक्सप्रेस पाना
माघ १९, २०८२ सोमबार
  • 196
    SHARES
  • ओखलढुङ्गाको चुनावी राजनीति उल्टिँदै,अम्बिरबाबु गुरुङ केन्द्रमा

    काठमाडौं । फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा ओखलढुङ्गा जिल्लाको चुनावी माहोल रोचक मोडमा पुगेको छ। विगतमा नेपाली कांग्रेस र नेकपा एमालेबीच सीमित रहँदै आएको प्रतिस्पर्धा यसपटक भने पूर्ण रूपमा नयाँ केन्द्रमा पुगेको हो । नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार अम्बिरबाबु गुरुङले पाएको तीव्र जनसमर्थन र नेकपा एमालेभित्र देखिएको गहिरो आन्तरिक संकटका कारण निर्वाचनको केन्द्र गुरुङतर्फ सरेको देखिन्छ।

    images

    जिल्लामा बढ्दै गएको जनसमर्थन र संगठनात्मक पुनर्संरचनाले गुरुङलाई सामान्य उम्मेदवारको हैसियतभन्दा धेरै माथि उभ्याइदिएको छ। लामो समयदेखि स्थापित शक्ति सन्तुलन यसपटक उल्टिन सक्ने संकेतहरू स्पष्ट देखिन थालेका छन्।

    ओखलढुङ्गाको चुनावी परिदृश्य परिवर्तन हुनुको प्रमुख कारण नेकपा एमालेभित्र देखिएको गहिरो आन्तरिक असन्तुष्टि हो। उम्मेदवार छनोट प्रक्रियामा जिल्ला कमिटीले सिफारिस गरेका नामहरूलाई बेवास्ता गर्दै केन्द्रले अस्मिता थापालाई उम्मेदवार बनाएपछि असन्तुष्टि सतहमा मात्र सीमित रहेन, खुला विद्रोहमा परिणत भयो।

    images

    पार्टी अध्यक्ष ज्ञानबहादुर खड्का, उपाध्यक्ष कमलप्रसाद न्यौपाने, सचिव अशोक थापा किसान, उपसचिव राजीव कटुवाल, प्रदेश कमिटी सदस्य सुरेश थापा, जगत लुइँटेल, युवा संघका केन्द्रीय सदस्य प्रचण्ड खड्कालगायत ३८ जना पदाधिकारीहरू नै एमाले परित्याग गरी नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएपछि एमालेको संगठनात्मक संरचना लगभग धराशायी बनेको छ।

    राजनीतिक विश्लेषकहरूका अनुसार जिल्लाको सम्पूर्ण कमिटी तह नै अर्को पार्टीमा विलय हुनु भनेको चुनावी अभियान, मतदाता परिचालन र मत व्यवस्थापन तीनै तहमा एमाले निष्क्रिय हुनु हो। कागजमा उम्मेदवार भए पनि व्यवहारमा एमाले कमजोर, बिखण्डित र रक्षात्मक अवस्थामा देखिएको छ।

    एमालेको तत्कालीन ओखलढुङ्गा कमिटीले ईश्वर पोखरेल, यज्ञराज सुनुवार, अम्बिरबाबु गुरुङ, नानीबाबु बढाथोकी र ज्ञानबहादुर खड्काको नाम उम्मेदवारका रूपमा सिफारिस गरेको थियो। तर पार्टी नेतृत्वले ती नामहरूलाई बेवास्ता गर्दै लिखु गाउँपालिकाकी उपाध्यक्ष अस्मिता थापालाई राजीनामा गराएर टिकट दिएको निर्णयले आक्रोश चुलियो।

    टिकट वितरणको विरोधमा राष्ट्रिय युवा संघ, अनेरास्ववियु, अखिल नेपाल महिला संघ र नेपाल खेलकुद महासंघले जिल्ला पार्टी कार्यालयमा अनिश्चितकालीन ताला लगाएका थिए। नेतृत्वले निर्णय सच्याउन अस्वीकार गरेपछि एमाले जिल्ला कमिटी नै विद्रोह गर्दै नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेको हो।

    विकाससँग जोडिएको विश्वास

    अम्बिरबाबु गुरुङ ओखलढुङ्गाका पहिलो कम्युनिष्ट मन्त्री हुन्। कोशी प्रदेशको भौतिक पूर्वाधार विकास राज्यमन्त्री तथा मन्त्रीको रूपमा रहँदा उनले जिल्लामा करिब १० अर्ब रुपैयाँ बराबरका विकास आयोजना भित्र्याएका थिए।

    पाँच वर्षको अवधिमा उनले सडक पूर्वाधारमा करिब ७ अर्ब, शहरी विकास तथा आवासमा ६२ करोड, खानेपानी तथा सिँचाइमा ५४ करोड र पर्यटन तथा खेलकुद क्षेत्रमा १२ करोड रुपैयाँ बराबरको बजेट ओखलढुङ्गा भित्र्याएको तथ्यांकले देखाउँछ। यही कारण उनी विकासवादी नेताका रूपमा स्थापित छन्।

    सडक सञ्जाल विस्तार, कालोपत्रे योजना, ग्रामीण बस्ती जोड्ने चक्रपथ, खानेपानी र स्वास्थ्य पूर्वाधारमा थालिएका आयोजनाहरू आज पनि मतदाताले प्रत्यक्ष अनुभूति गरिरहेका छन्। चुनावी भाषणमा गुरुङले “थालिएका आयोजना पूरा गर्ने” प्रतिबद्धता दोहोर्‍याइरहेका छन्, जुन मतदाताका लागि भावनात्मकभन्दा बढी व्यावहारिक मुद्दा बनेको छ।

    624102886_940804275133387_1951688261591273311_n.jpg.jpeg

    बदलिँदो मतदाता मनोविज्ञान

    अघिल्ला निर्वाचनमा एमालेको मत आधार संगठनसँग मजबुत रूपमा जोडिएको थियो। तर हाल संगठन विभाजित भएपछि त्यो मत आधार यथावत् रहने अवस्था छैन। अर्कोतर्फ, नेपाली कम्युनिष्ट पार्टी अहिले नयाँ शक्ति सन्तुलनसहित अगाडि बढेको छ।

    यसले केवल मतको गणित मात्र होइन, मतदाताको सोच र अपेक्षामा पनि परिवर्तन ल्याएको देखिन्छ। यही कारण ओखलढुङ्गाको यो निर्वाचन सामान्य प्रतिस्पर्धाभन्दा फरक, राजनीतिक दिशानिर्देश बदल्ने चुनावका रूपमा हेरिन थालेको छ।

  • सम्बन्धित विषय:

  • # अम्बिरबाबु गुरुङ
  • # ओखलढुङ्गा