काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निपाह भाइरसको सम्भावित जोखिमलाई ध्यानमा राख्दै आम नागरिकलाई सतर्क रहन आग्रह गरेको छ।
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वव्यापी तथा दक्षिण–पूर्वी एसियाली क्षेत्रमा निपाह भाइरसबाट जनस्वास्थ्य जोखिम कम देखिए पनि छिमेकी मुलुकमा देखिएका केही घटनालाई मध्यनजर गर्दै मन्त्रालयले पूर्वतयारीका कदम चालिएको जनाएको छ।
मन्त्रालयका अनुसार निपाह भाइरस संक्रमित फलफूल चमेरा, तिनको र्याल, पिसाब वा दिसाबाट दूषित फलफूल सेवन गर्दा संक्रमण हुन सक्ने जोखिम रहन्छ। साथै संक्रमित व्यक्तिको रगत, थुक, पिसाब वा नजिकको सम्पर्कबाट पनि संक्रमण सर्न सक्ने बताइएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फलफूल राम्ररी धोएर मात्र खाने, राम्रोसँग पकाएको खाना सेवन गर्ने, सफा र सुरक्षित पानी मात्र पिउने, जनावरको गोठ तथा फार्म सफा राख्ने, मासु काट्दा पञ्जा र मास्क प्रयोग गर्ने तथा बेला–बेलामा साबुन पानीले हात धुनेजस्ता जनस्वास्थ्यका मापदण्ड पालना गर्न अनुरोध गरेको छ।
मन्त्रालयका अनुसार ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी दुख्ने, घाँटी दुख्ने, सास फेर्न गाह्रो हुने, बान्ता हुने तथा गम्भीर अवस्थामा होस हराउनेजस्ता लक्षण देखिएमा तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न वा १११५ मा फोन गर्न आग्रह गरिएको छ।
हालसम्म नेपालमा निपाह भाइरसको कुनै पुष्टि भएको घटना नभएको स्पष्ट पार्दै मन्त्रालयले स्वास्थ्य निकायहरू जोखिम न्यूनीकरणका लागि पूर्ण तयारी अवस्थामा रहेको जनाएको छ। साथै नागरिकलाई आतंकित नहुन तर सचेत, सजग र जिम्मेवार बन्न पनि आग्रह गरिएको छ।
मन्त्रालयले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदार संस्थासँग समन्वय गरी अवस्था निरन्तर अनुगमन गरिरहेको र आधिकारिक सूचनामात्र विश्वास गर्न सबैमा अनुरोध गरेको छ।



