काठमाडौं । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा ओखलढुङ्गा जिल्लाको राजनीतिक समीकरण असाधारण रूपमा फेरिने संकेत देखिएको छ। जिल्लामा लामो समयदेखि कायम दुईध्रुवीय शक्ति सन्तुलन यसपटक भत्किएको छ भने स्वतन्त्र धारमा उभिएका पूर्व प्रदेशमन्त्री अम्बिरबाबु गुरुङ नयाँ शक्तिका रूपमा उदाएका छन्।
२०७९ को निर्वाचनमा समानुपातिकतर्फ सर्वाधिक मत प्राप्त गरेको नेकपा एमाले यसपटक गम्भीर आन्तरिक संकटमा फसेको छ। टिकट वितरण विवादपछि पार्टी संगठन नै विभाजनको अवस्थामा पुगेको छ। अर्कातर्फ नेपाली कांग्रेस पनि चर्चित नेता रामहरी खतिवडाले टिकट नपाएपछि अपेक्षित रूपमा चुनावी अभियानमा सक्रिय हुन सकेको छैन।
विगतमा ओखलढुङ्गामा देखिदै आएको दुई पक्षीय शक्ति सन्तुलन यसपटक भत्किएको मात्र छैन, नयाँ शक्तिका रुपमा उदाएका अम्बिरबाबु गुरुङले चुनाव जित्ने तीब्र चर्चा समेत चल्न थालेको छ ।
लिखु गाउँपालिकाको उपाध्यक्ष पदबाट राजीनामा गराएर एमालेले उम्मेदवार बनाएकी अस्मिता थापाको पक्षमा पार्टीको ठूलो पंक्ति खुलेर चुनावी प्रचारमा जुट्न सकेको छैन। एमालेबाट स्थानीय तहमा निर्वाचित एक जनप्रतिनिधिका अनुसार पार्टी नेतृत्वको गलत निर्णयका कारण जित्ने अवस्थामा रहेको चुनाव हारतर्फ धकेलिएको छ।
उनका अनुसार कांग्रेसले रामहरी खतिवडालाई टिकट नदिई कुमार लुइँटेललाई उम्मेदवार बनाएपछि कुनै गठबन्धनबिनै पनि एमालेले चुनाव जित्ने अनुकूल अवस्था बनेको थियो। तर, आन्तरिक विवाद र नेतृत्वको गलत निर्णयले त्यो सम्भावनालाई कमजोर बनाएको उनी बताउँछन्।
उनले भने, “ओखलढुङ्गामा नेकपा एमालेको संकट सामान्य गुटगत विवाद मात्र होइन, यो केन्द्रीय नेतृत्वको स्वेच्छाचारी र बदला प्रवृत्तिका कारण सिर्जिएको गम्भीर राजनीतिक संकट हो।”
पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति असन्तुष्टि व्यक्त गर्दै उनले थपे, “जिल्लाको यथार्थ अवस्थालाई बेवास्ता गर्दै अध्यक्ष ओलीले गरेको गलत निर्णयले आज ओखलढुङ्गामा एमाले संगठन थला परेको छ। एउटा गलत निर्णयले दशकौँदेखि निर्माण भएको संगठनलाई कसरी तहसनहस बनाउन सक्छ भन्ने उदाहरण अहिले ओखलढुङ्गामा देख्न सकिन्छ।”
एमालेबाट निर्वाचित जनप्रतिनिधिले दाबी गरेअनुसार अहिले ओखलढुङ्गामा एमालेबाटै दीक्षित र संगठित भएका नेता–कार्यकर्ताहरूको नेतृत्वमा पार्टीभन्दा नै प्रभावशाली र शक्तिशाली समानान्तर शक्ति केन्द्र निर्माण भएको छ।
पार्टीभित्रको असन्तोष, नेतृत्वप्रतिको अविश्वास र संगठनात्मक विभाजनका कारण ठूलो संख्यामा कार्यकर्ता तथा स्थानीय नेता एमालेको औपचारिक संरचनाबाट अलग धारमा सक्रिय भएका छन्, जसले जिल्लाको राजनीतिक समीकरण नै फेरिने संकेत देखिएको छ।
ईश्वर पोखरेल समूहलाई कमजोर पार्ने रणनीतिका रूपमा अध्यक्ष केपी शर्मा ओली पक्षको जिल्ला संरचनाले सर्वसम्मत रूपमा सिफारिस गरिएका अम्बिरबाबु गुरुङ र यज्ञराज सुनुवारलाई बेवास्ता गर्दै सिफारिसमै नपरेकी अस्मिता थापालाई टिकट दिएको आरोप स्थानीय नेताहरूले लगाएका छन्।
पार्टीको उक्त निर्णयलाई ‘स्वेच्छाचारी’ भन्दै एमाले जिल्ला अध्यक्ष ज्ञानबहादुर खड्का, उपाध्यक्ष कमलप्रसाद न्यौपाने, सचिव अशोक थापा र उपसचिव राजीव कट्वालसहित सम्पूर्ण जिल्ला नेतृत्वले सामूहिक राजीनामा दिँदै नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० मा प्रवेश गरेका थिए। जिल्लास्तरीय मुख्य नेतृत्व नै अर्को पार्टीमा प्रवेश गरेपछि एमालेको चुनावी अभियान सुरु हुनुअघि नै कमजोर अवस्थामा पुगेको देखिएको छ।
यस ऐतिहासिक सांगठनिक विघटनले एमाले संगठनलाई व्यवहारिक रूपमा उम्मेदवारमै सीमित गरिदिएको छ। मतदातासँग पुगेर भोट माग्न जाने बलियो संरचना र जनशक्ति नहुँदा पार्टीको चुनावी अभियान प्रभावहीन बनेको स्थानीय नेताहरूको भनाइ छ।
पूर्व जिल्ला अध्यक्ष शंकर कटुवाललाई पुनः पार्टीमा फर्काएर संकट व्यवस्थापन गर्ने प्रयास गरिए पनि जिल्लाको जुझारु र क्रियाशील टिम नेकपामा प्रवेश गरिसकेकाले एमाले संगठन पुनर्जीवित हुन सकेको छैन। यसले गर्दा एमाले ओखलढुङ्गामा चुनाव जित्नु त परै जाओस्, मनोबलका साथ प्रचार–प्रसारमा समेत सक्रिय हुन नसकेको अवस्था छ।
दुई वर्षदेखि निष्क्रिय रहेका पूर्व जिल्ला अध्यक्ष कटुवालले सामाजिक सञ्जालमार्फत आफू पुनः सक्रिय भएको घोषणा गर्दै अम्बिरबाबु गुरुङ पक्षको ‘मानसिक दबाब’ र ‘हैकमवादी प्रवृत्ति’का कारण निष्क्रिय बस्न बाध्य भएको दाबी गरेका छन्। तर उनको यो दाबीलाई एमालेकै स्थानीय नेता–कार्यकर्ताले विश्वास गरेका छैनन्।
स्थानीय नेताहरूका अनुसार कटुवालले यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० बाट टिकट लिएर चुनाव लड्ने प्रयास गरेका थिए। तर रास्वपाले नेपाल प्रहरीका पूर्व एआईजी विश्वराज पोखरेललाई उम्मेदवार बनाएपछि उनी असन्तुष्ट बनेका थिए।
एमालेका एक जिल्ला स्तरीय नेताका अनुसार, अरूलाई दोष दिएर पार्टी छाड्ने र संघर्षबाट पन्छिने व्यक्तिले ‘पार्टीलाई जिताउँछु’ भन्दै पुनः फर्किएको घोषणाले संगठनमा खासै प्रभाव पार्न सकेको छैन। उनका अनुसार चम्पादेवी राई, झनक कार्की र विशाल राईजस्ता केही नेताहरू पुनः एमालेमै फर्किए पनि अम्बिरबाबु समूहले साथमा लिएर गएको ठूलो संगठनात्मक शक्ति पुनः एमालेमा फर्किन सम्भव देखिँदैन।
ओखलढुङ्गाको राजनीतिमा चासो राख्ने एक स्थानीय बुद्धिजीवीका अनुसार अम्बिरबाबु गुरुङको पछिल्लो राजनीतिक कदम केवल टिकट नपाउँदाको आवेगात्मक विद्रोह नभई सुविचारित र दीर्घकालीन रणनीतिमा आधारित छ।
उनका अनुसार यदि अम्बिरबाबु एक्लै अर्को पार्टीमा प्रवेश गरेर उम्मेदवार बनेका भए व्यक्तिगत असन्तुष्टिका कारण पार्टी छाडेको आरोप लाग्न सक्थ्यो। तर एमालेको सम्पूर्ण जिल्ला कमिटी नै साथमा लिएर जानुले अम्बिरबाबुमाथि पार्टीभित्र अन्याय भएको तथ्यलाई सार्वजनिक रूपमा पुष्टि गरेको छ।
उनले भने, “अम्बिरबाबुले एमालेभित्रको संकटलाई आफ्नो जितको आधार बनाउँदै अनुकूल राजनीतिक माहोल निर्माण गरेका छन्। विगतमा जिल्लाको विकासका लागि गरेका कामको ‘ट्र्याक रेकर्ड’ र एमालेबाटै आफूले साथमा ल्याएको मजबुत संगठनात्मक संरचनालाई एकै ठाउँमा समायोजन गर्दै उनले स्पष्ट चुनावी आधार तयार पारेका छन्।”
स्थानीय बुद्धिजीवीका अनुसार यही कारण अम्बिरबाबु ‘विद्रोही नेता’ भन्दा पनि ‘स्थानीय संगठन र जनसमर्थनसहित मैदानमा उत्रिएका सेनापति’का रूपमा स्थापित हुँदै गएका छन्।
अम्विरबाबु गुरुङ्गले कोशी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री हुँदा ओखलढुंगाको लागि करिब १० अर्ब रुपैयाँ बराबरको बजेट र विकास आयोजनाहरू भित्र्याएको तथ्यलाई आफ्नो चुनावी अभियानको मुख्य एजेन्डा बनाएका छन् । उनले त्यसबेला सडक पूर्वाधारमा करिब ७ अर्ब, सहरी विकासमा ६२ करोड, र खानेपानी तथा सिँचाइमा ५४ करोड रुपैयाँ बजेट विनियोजन गराएका थिए । उनको चुनावी अभियान नै आफूले सुरु गरेका अधुरा विकास आयोजनाहरूलाई पूर्णता दिने प्रतिबद्धतामा केन्द्रित छ ।
एमाले विभाजित हुँदा कांग्रेसलाई सैद्धान्तिक रूपमा फाइदा हुनुपर्ने हो । तर, अम्बिरबाबुको उम्मेदवारी दुवै प्रमुख दलभित्रको असन्तुष्टिलाई सम्वोधन गर्ने थलो भएको छ । नेपाली काग्रेशका चर्चित नेता रामहरी खतिवडाले ओखलढुङ्गा काग्रेशमा एकछत्र रजगज गर्दै आएका थिए । कुमार लुइँटेलाई चुनाव जिताएर आफ्नो पार्टी भित्र बलियो प्रतिस्पर्धी निर्माण गर्न रामहरीले नचाहने एक काग्रेश कार्यकर्ता बताउँछन् । उनका अनुसार ‘रामहरीले पार्टीका लागि चुनावी कार्यमा सहभागि भएको देखाउँछन् । तर मन बचन र कर्मले कुमारलाई जिताउन लाग्दैनन् ।’ एमालेका स्थानीय नेता हर्कबोल राई अम्बिरबाबुले एमालेकोभन्दा बढी कांग्रेसको मत काट्ने बताउँछन् । उनका अनुसार कांग्रेसको असन्तुष्ट मत गुरुङतिर जाने र कांग्रेसलाई आफ्नै मत जोगाउनसमेत मुस्किल पर्ने अवस्था देखिएको छ ।
ओखलढुङ्गाको आगामी प्रतिनिधिसभा निर्वाचन अब दलहरूबीचको साधारण प्रतिस्पर्धामा सीमित नरही जिल्लाको राजनीतिक शक्ति सन्तुलन पुनःनिर्माण हुने निर्णायक मोडका रूपमा हेरिन थालेको छ।
ऐतिहासिक रूपमा जिल्लाको सबैभन्दा बलियो दल मानिँदै आएको एमाले टिकट विवादबाट उत्पन्न सांगठनिक विघटनका कारण चुनाव जित्नुभन्दा पनि आफ्नो राजनीतिक अस्तित्व जोगाउने संघर्षमा देखिएको छ। अर्कातर्फ आन्तरिक मतभेद र सम्भावित अन्तरघातका कारण कांग्रेस उम्मेदवारका लागि पनि जितको बाटो सहज देखिँदैन।
यस्तो अवस्थामा एमालेको ठूलो संगठनात्मक शक्ति आफूतर्फ तानेर ‘विकासवादी नेता’को छविसहित चुनावी मैदानमा उत्रिएका अम्बिरबाबु गुरुङ स्पष्ट अग्रस्थानमा देखिएका छन्। वर्तमान राजनीतिक अवस्था र स्थानीय समीकरण कायम रहेमा ओखलढुङ्गामा अम्बिरबाबुको जित सम्भावनालाई नजरअन्दाज गर्न नसकिने विश्लेषकहरूको निष्कर्ष छ।
.jpg)


